इटहरी : इटहरीमा एक युवकमाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इटहरी ६ मा भएको घटनामा संलग्न पाँचजनालाई विराटनगरको बरगाछीबाट पक्राउ गरिएको हो । आज (बुधबार) दिउँसो करिब ४ः४० बजेतिर इटहरी ६ को कुवेर चौकमा एक युवकमाथि खुकुरी प्रहार भएको थियो ।
खुकुरी प्रहारबाट तत्काल फरार रहेकाहरूलाई प्रहरीले विराटनगरको बरगाछीबाट पक्राउ गरेको हो । उनीहरूलाई बुधबार राति करिब ८ः३० बजेतिर पक्राउ गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट इटहरी १६ का अन्दाजी २१ वर्षीय प्रवेश बुढाथोकी घाइते भएका छन् । खुकुरी प्रहारबाट उनको हात र टाउकोमा चोट लागेको छ । घाइते भएका उनको इटहरीस्थित बेदान्त हस्पिटलमा उपचार भइरहेको छ ।
‘घटनामा संलग्नहरू पूर्वतर्फ भागेको भन्ने प्रारम्भिक जानकारी आएपछि खोजी तीव्र पारेका थियौँ,’ इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले टाकुरा न्यूजसँग भने, ‘घटना के कारण भएको भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।’
घटनास्थलमा सिसी टिभी फुटेज हेरेर विभिन्न कोणबाट अनुसन्धान सुरू गरेको उनले बताए । विराटनगरमा पक्राउ परेका उनीहरूलाई इटहरी ल्याइँदै गरेको र ती मध्ये कोको घटनामा संलग्न हुन् भन्नेबारे अनुसन्धानबाट खुल्ने प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय इटहरी, सिभिलमा खटिएका प्रहरी र अनुसन्धानका प्रहरीसहित कोशी प्रदेश प्रहरी कार्यालयसँगको सहकार्यमा घटनामा संलग्नहरूको खोजी गरिएको थियो ।
प्रहरीले पक्राउ परेकाहरूको पहिचान तत्काल गोप्य राखेको छ । प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्नहरूलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिने प्रहरीको तयारी छ ।
बिहीबार जिल्ला अदालत सुनसरीबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेपछि घटनामा संलग्नलाई सार्वजनिक गर्ने इटहरी प्रहरीले जनाएको छ ।
यो पनि – इटहरीमा लखेटी–लखेटी चार युवकले गरे खुकुरी प्रहार
भिडियो













Discussion about this post