इटहरी : इटहरीमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । आज (बुधबार) दिउँसो करिब ४ः४० बजेतिर एक युवकमाथि खुकुरी प्रहार भएको हो ।
यहाँको संगीत चौकबाट चारजना युवकले लखेटी–लखेटी कुवेर चौकमा पुगेर खुकुरी प्रहार भएको हो ।
इटहरी ६ मा पर्ने उक्त ठाउँमा खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन् । घाइते हुनेमा अन्दाजी २१ वर्षीय प्रवेश बुढाथोकी रहेका छन् । इटहरी १६ निवासी उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । उनको हात र टाउकोमा चोट लागेपछि उपचार सुरू गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्नहरू फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरू इटहरीकै भएका कारण उनीहरूको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ । केही भने पकलीतिरकै रहेको र केही अन्य ठाउँका पनि रहेको प्रहरीले जनाएको छ ।
‘घटना भएपछि पूर्वतर्फ भागेको भन्ने प्रारम्भिक जानकारी आएपछि खोजी तीव्र पारेका छौँ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘अहिले घटनामा संलग्नको हुलिया पत्ता लगाउन घटनास्थलको सिसी टिभी फुटेज पनि हेर्ने काम भइरहेको छ ।’
प्रहरीले अहिले घटनास्थलमा सिसी टिभी फुटेज हेरेर विभिन्न कोणबाट अनुसन्धान सुरू गरेको जनाएको छ । प्रहरीकाअनुसार घटनाको कारण भने पत्ता लागेको छैन ।
प्रत्यक्षदर्शीका अनुसार घटनामा चारजना युवक संलग्न छन् ।
‘सबै युवक करिब २० वर्ष उमेर समूहका छन्, सबैको हातमा खुकुरी पनि थियो,’ एक प्रत्यक्षदर्शी महिलाले भनिन्, ‘लखेटी लखेटी खुकुरी प्रहार भयो । हामी कसैले प्रहरीलाई फोन गर्यौँ, कसैले होहल्ला गरेपछि यहाँबाट पूर्वतर्फ भागेका छन् ।’
यो पनि – इटहरीमा युवकमाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न पाँचजना पक्राउ
भिडियो
Discussion about this post