इटहरी : अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य घटेसँगै नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य उल्लेख्य रूपमा घटाएको छ। नयाँ मूल्य गएराति १२ बजेदेखि लागू भएको छ।
निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ घटाउने निर्णय गरेको हो।
मूल्य समायोजनपछि पहिलो वर्गअन्तर्गत पर्ने विराटनगर, चारआली, जनकपुर, अमलेखगन्ज, वीरगन्ज, भलवारी, नेपालगन्ज र धनगढीमा पेट्रोलको मूल्य प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य १९२ रुपैयाँ ५० पैसा कायम भएको छ।
यस्तै, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेल १९५ रुपैयाँमा पाइनेछ। सुर्खेत र दाङमा पेट्रोल १९६ रुपैयाँ र डिजेल १९४ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ हजार १६० रुपैयाँबाट एक सयले घटेर २ हजार ६० रुपैयाँ कायम भएको छ।
निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ घटाएर २२९ रुपैयाँ कायम गरेको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य पनि घटाएको जनाएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नुका साथै इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको हो।



















Discussion about this post