झापा : झापाको कन्काई नगरपालिका–२ स्थित एस फुल सेकुवा कर्नरबाट प्रहरीले दुई भारतीय नागरिकलाई ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, कुरसाकट्टा वडा नं. ७ तकियाटोल निवासी २८ वर्षीय महमद एहवाल र सोही जिल्लाको कुरसाकट्टा वडा नं. ८ छिप्टिया टोल निवासी २७ वर्षीय अझर अन्सारी रहेका छन्।
प्रहरीले दुवै जनाको खानतलासी गर्दा उनीहरूले बोकेको रातो प्लास्टिकको बोराभित्रबाट १०२ ग्राम ३१० मिलिग्राम खैरोहेरोइन, ७ हजार २०० वटा ट्रामाडोल क्याप्सुल र ७ हजार ४५० वटा ट्याब्लेट बरामद गरेको जनाएको छ।
उनीहरूको साथबाट दुई थान एन्ड्रोइड मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post