इटहरी : सरकारले सहिद घोषणा गरेपछि सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जका १९ वर्षीय रवीन्द्र मेहताको बुधबार अन्त्येष्टि गरिएको छ।
कप्तानगन्ज घटनामा गम्भीर घाइते भएका मेहताको उपचारका क्रममा गत साउन १९ गते काठमाडौंमा मृत्यु भएको थियो। त्यसपछि उनको शव त्रिवि शिक्षण अस्पतालमै राखिएको थियो।
सरकारले सहिद घोषणा नगरेसम्म शव नबुझ्ने परिवारको अडानका कारण मेहताको शव करिब एक सातासम्म अस्पतालमै रोकिएको थियो। परिवारले घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने मागसमेत राख्दै आएको थियो।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मेहतासहित सुनसरी र सिरहाका विभिन्न घटनामा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेपछि परिवारले शव बुझेर अन्तिम संस्कार गरेको हो।
सरकारको निर्णयपछि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालबाट हेलिकप्टरमार्फत मेहताको शव बुधबार देवानगन्ज ल्याइएको थियो। त्यसपछि आफन्त तथा स्थानीयवासीको उपस्थितिमा उनको अन्त्येष्टि गरिएको हो।
कप्तानगन्जमा गत साउन १० गते भएको घटनामा मेहता गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएपछि घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै परिवारले शव बुझ्न अस्वीकार गर्दै आएको थियो।












Discussion about this post