उदयपुर : उदयपुरको कर्णाली भनेर चिनिएको कोशी किनारको गाउँपालिका लिम्चुङबुङले आफ्नो पालिकाका लागि शिक्षामा सीप पाठ्यक्रम मार्ग दर्शन ४—१२ र स्थानीय पाठ्यपुस्तक कक्षा १—५ तयार पारेर गाँउकार्यपालिकाबाट स्वीकृत भएको छ ।
लिम्चुङबुङ गाउँपालिका, गाउँकार्यपालिकाको शुक्रबार सम्पन्न बैठकबाट शिक्षासँग सम्बन्धित दुई महत्वपूर्ण दस्तावेज स्वीकृत भएका छन् ।
गाउँपालिकाको स्थानीय आवश्यकता, मौलिकता, सम्भावना र विद्यार्थीको सिकाइलाई व्यवहारिक तथा जीवनोपयोगी बनाउने उद्देश्यले तयार गरिएको ‘शिक्षामा सीप पाठ्यक्रम मार्गदर्शन, कक्षा ४–१२’ तथा स्थानीय पाठ्यपुस्तक, कक्षा १–५’ आज गाउँकार्यपालिकाबाट औपचारिक रूपमा स्वीकृत भएको छ ।
स्थानीय तहको शैक्षिक अधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी सीप, सिर्जनशीलता, व्यवहारिक ज्ञान, स्थानीय संस्कृति, परम्परा, भाषा, भूगोल, प्राकृतिक स्रोत तथा स्थानीय सम्भावनासँग जोड्ने उद्देश्यले यी शैक्षिक सामग्रीहरू तयार गरिएको लिम्चुङबुङ गायँपालिकाका कार्यबाहक अध्यक्ष पुष्पराज राईले बताउनु भयो ।
शिक्षामा सीप पाठ्यक्रम मार्गदर्शन (कक्षा ४–१२) ले विद्यार्थीमा उमेर तथा तहअनुकूल व्यावहारिक सीप, जीवनोपयोगी सीप, उद्यमशील सोच, सिर्जनशीलता, समस्या समाधान क्षमता, प्रविधिको प्रयोग तथा स्थानीय परिवेश अनुकूल ज्ञान र दक्षता विकास गर्न मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।
यसले विद्यालय शिक्षालाई ‘पढ्ने र परीक्षा दिने’ प्रक्रियामा मात्र सीमित नराखी ‘सिक्ने, गर्ने र प्रयोग गर्ने’ शिक्षण–सिकाइ पद्धतितर्फ उन्मुख गराउने आधार तयार गर्ने पाठ्यपुस्तक र पाठ्यक्रम तयारीका संयोजक श्री विश्वराम राईको धारणा रहेको छ ।
सो पालिकाका शिक्षा शाखा प्रमुख आठौँ तहका अधिकृत गोविन्द कार्कीका अनुसार पालिकाको कार्यपालिका बैठकबाट कक्षा १—५ को लिम्चुङबुङ सेरोफेरो नामक पाठ्यपुस्तक पाठ्यक्रम अनुसार स्वीकृत भएकाले अब प्रेसमा दिइने र हिउँदे अधिवेसनबाट पारित गरेर शैक्षिक सत्र २०८४ बैशाखदेखि कार्यान्वयनमा आउने बताउनु भयो ।
यसबाट बालबालिकामा आफ्नो गाउँ, समुदाय र स्थानीय पहिचानप्रति अपनत्व तथा गौरवको भावना विकास गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको र कक्षा ६ देखि ८ सम्मको पाठ्यपुस्तक तयार भैरहेको संयोजक राइले बताएका छन् ।
पाठ्यपुस्तक र पाठ्यक्रम तयारीका संयोजक श्री विश्वराम राई सर लगायत पाठ्यपुस्तक तयारी समितिका सम्पूर्ण विज्ञ सदस्यहरूलाई लिम्चुङबुङ गाउँपालिकाको तर्फबाट विशेष धन्यवाद तथा हार्दिक आभार व्यक्त गरेको छ ।

















Discussion about this post