इटहरी : इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१२ खनारका ५६ वर्षीय जीवन दर्जी रहेका छन् ।
शुक्रबार साँझ इटहरी–१२ संविधान चोकस्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र।१–०२–०४७ प २९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका दर्जीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा टाउकोमा चोट लागेका दर्जीलाई तत्काल वेदान्त अस्पताल इटहरीमा सामान्य उपचारपछि थप उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल विराटनगर लगिएको थियो । उपचारका क्रममा राति १०ः३५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक कोशी गाउँपालिका–४ का ३७ वर्षीय ममताज मिया पनि घाइते भएका छन् । अनुहार र खुट्टामा चोट लागेका उनको अवस्था गम्भीर रहेको र खनारस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार मियाकी श्रीमती ३६/३७ वर्षीया रविना खातुनको टाउको र हातमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनलाई पनि थप उपचारका लागि विराट मेडिकल कलेज लगिएको छ ।
दुर्घटनापछि प्रहरीले मोटरसाइकल र साइकललाई नियन्त्रणमा लिएर प्रहरी चौकी खनारमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post