इटहरी : इटहरीमा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–धरान सडकखण्डअन्तर्गत चारकोसे जंगलको पानीट्यांकी क्षेत्रमा चेकजाँच गर्ने क्रममा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा प्रहरी टोलीले पानीट्यांकी क्षेत्रमा ब्यारेकेड राखेर सवारीसाधन चेकजाँच गरिरहेको थियो। सोही क्रममा शंकास्पद एम्बुलेन्सलाई रोकेर जाँच गर्ने क्रममा चालकले प्रहरी टोलीलाई नै एम्बुलेन्सले ठक्कर दिएर भाग्ने प्रयास गरेका थिए।
प्रहरीलाई छल्दै भाग्ने प्रयास असफल भएपछि चालकले एम्बुलेन्स घटनास्थलमै छाडेर फरार भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
एम्बुलेन्सभित्र ३० किलोका दरले १५ वटा पोकामा राखिएको कुल ४५० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी चौकी तरहराको टोलीले मंगलबार राति करिब ११ः४० बजे ज्यानको जोखिमसमेत मोलेर गाँजासहितको एम्बुलेन्स नियन्त्रणमा लिन सफल भएको हो।
घटनामा संलग्न चालकको खोजी भइरहेको तथा बरामद गाँजा र एम्बुलेन्सका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















Discussion about this post