धरान : धरानास्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाएको तालाबन्दी उच्च अदालत विराटनगरको आदेशपछि खुलेको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गत माघ १ गते प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
उच्च अदालत विराटनगरले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल, तालाबन्दी नगर्न/नगराउन आदेश जारी गरेलगत्तै प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीको कार्यकक्षमा लगाएको तालाबन्दी खोल्न आदेश दिएको हो ।
जारी आदेशमा भनिएको छ, ‘वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो अस्पतालमा दैनिक हजारौं बिरामीले स्वास्थ्य सेवा र उपचार लिन आउने भएकाले मानवीय संवेदनशीलता भएको स्वास्थ्य संस्थामा बन्द हडताल, तालाबन्दीजस्ता कार्य भई स्वास्थ्य उपचारको सेवाबाट बिरामीहरू बन्चित हुन गइरहेको अवस्थामा सार्वजनिक हितका लागि एवम् नागरिकहरुको स्वास्थ्य उपचार पाउने हकअधिकार समेतबाट उक्त प्रतिष्ठानमा गरिएको तालबन्दी खोली नियमित स्वास्थ्य उपचारको सेवाहरु दैनिक सुचारु गर्नु/गराउनु एवं कुनै पनि व्यक्ति, संस्था, संगठनहरुबाट बन्द हड्ताल, तालाबन्दी नगर्नु नगराउनु भनी विपक्षीहरुको नाउँमा देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ तथा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरी दिएको ।’
रिटमाथि सुनवाइ गर्दै उच्च अदालतले कारण देखाउ आदेश जारी गरेपछि शुक्रबार ताला खुलेको हो ।
उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले ताला खोल्न आदेश दिएको हो ।
रिटमा जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका नगरप्रमुख साम्पाङसहित ९ विपक्षीको नाममा उच्चले अन्तरिम आदेशसहित कारण देखाउ आदेश जारी गरेको हो ।














Discussion about this post