इटहरी : इटहरीका अर्जुन शर्मालाई गत असोज २८ गते कोभिड १९ संक्रमणको पुष्टि भयो ।
संक्रमण पुष्टि भएपछि उनले आफ्नो परिवारमा जोखिम हुनसक्ने भएकाले अाँफू इटहरी उपमहानगरपालिकाले तयार गरेको आइसोलेसनमा बस्न जाने निर्णय गरे ।
तर, बिडम्बना शर्माले सोचेजस्तो त कुरै छाडौँ, आइसोलेसनमा भएका अमानवीय व्यवहारले उनमा पीडा थपियो ।
‘नगरपालिकाको आइसोलेसन साह्रै राम्रो भन्ने हल्लाले म त्यहाँ गएँ,’ शर्माले फोन सम्पर्कमा टाकुरासँग भने, ‘आइसोलेसन मा हैजा फैलने डर छ, त्यहाँ जानू उचित देखिएन ।’
उनले आँफू ११ दिनसम्म आइसोलेसनमा बस्दा साह्रै पीडादायी क्षण बिताउनुपरेको सुनाए ।
‘त्यहाँको फोहर कहिल्यै उठ्दैन, अब हैजा फैलने डर छ,’ शर्माले आइसोलेसनमा बस्दाको पीडा सम्झदैँ भने, ‘फाटेका झुलहरु छन्, लामखुट्टेको टोकाई सहनु नसक्दो छ, सामान्य मानिस पनि बिरामी हुन्छन् आइसोलेसनमा बस्दा, सुगुँरको खोरजस्तो छ आइसोलेसनको अवस्था ।’
सुत्ने ठाउँमै डम्पिङ साइट भएका कारण असहज हुने गरेको उनको भोगाई रहेको छ ।
सेनाले पनि बारबार आएर हप्काउने गरेको उनले बताए । ‘सेनाले राती राती आएर किन खानेकुरा मगाउनुहुन्छ भनेर दुःख दिने गरेको छ,’ उनले टाकुरालाई सुनाए, ‘बिरामीलाई पीडा माथि पीडा दिने काम गरिराखेको छ, स्वास्थ्यकर्मीले कहिल्यै पनि साह्रो, गाह्रोबारे सोध्न आएनन् ।’
शर्माले संक्रमितलाई सेनाले गर्ने अमानवीय व्यवहारको जति निन्दा र भत्र्सना गरेर नसकिने बताए ।
‘निरकुंश राजाको शाशनमा पनि यस्तो व्यवहार सेनाले जनतालाई गरेको नहुनुपर्ने हो,’ उनले भने, ‘सुत्ने ठाउँमा राती–राती सेनाको प्रवेश किन ? खानपिन र बिरामीको अवस्था बुझ्न स्वास्थ्यकर्मीको निरन्तर अनुगमन र निगरानी हुनुपर्ने यस्तो ठाउँमा कहिल्यै उनीहरु आएनन र आउँदैनन् रहेछन । मात्र सेना आउदो रहेछ ।’
राती सा¥होगा¥हो हुँदा संक्रमितलाई एम्बुलेन्समा हालेर पठाउने बाध्यता पनि संक्रमितहरुलाई नै रहेको उनले बताए ।
‘कुहिएको आलु र पाकेको फर्सिको एकनासे गन्धले अझै उल्टि आउन खोजिरहेछ । सोडा हालेर फुलाएको भात, प्लास्टिकमा पोका पारेर पछार्दै ल्याएको पानी जस्तो मुसुरो दाल, घरिघरी आउने अचार र एकपित्को सागको सहारामा बाँच्दाको सास्ती सबैका आत्मीय बनिरहे,’ उनले सामाजिक सञ्जालमा पनि लेखेका छन्, ‘रात कटाउने खोरकै सिरान पारेर तयार गरेको खाल्डाबाट आउने दालभातको कुहिएको गन्ध, दिनभरी चप्पलहरुले उडाउने बालुवा र धूलो, जुट अनुसन्धानले दुई दिन आडैमा चलाएको थ्रेसरको ढुटो नाकमा पसेर हैरान छ ।’
उनले रोग जानाजान कसैलाई पनि नलाग्ने र रोगी मानिसलाई सेना, स्वास्थ्यकर्मी र कर्मचारीले हेर्ने दृष्टिकोण तल्लो स्तरको रहेको बताउँदै कोही संक्रमित भएमा घरमै बस्न समेत भन्का छन् ।
‘संक्रमितहरुलाई एउटा सुझाव भरसक घरैमा बस्नोस, घर छैन भने खोलाछेउको रुखको छहारीमा बस्नोस, म चिउरा र तरकारी उपलब्ध गराउला ।’ उनले लेखेका छन् ।
नेपाली सेनाले सुरक्षाको जिम्मा लिएको उक्त आइसोलेसन प्रदेश १ सरकारको २० लाख सहयोगमा निर्माण भएको हो । ५ असोजदेखि सञ्चालनमा आएको आइसोलेसनमा एक सय बेड क्षमता रहेको छ । इटहरी उपमहानगरपालिकाले भने आइसोलेसन राम्रो रहेको भन्दै प्रचार गर्दै आएको छ ।
इटहरीका जनप्रतिनिधि प्रचारमुखी रहेको तर संक्रमितलाई भने घृणित नजरले हेर्ने गरेको संक्रमितहरुको गुनासो रहेको छ ।
यो पनि – इटहरीका कोरोना संक्रमितको गुनासो : ‘आइसोलेसनमा भेडा बाख्रा थुनेजस्तो छ’
यो पनि – कोरोना नियन्त्रणमा ५ करोड खर्च गरेको इटहरीमा निको भएका संक्रमितको डाटा छैन
भिडियो
Discussion about this post