धरान : संजीवनी उपचार तथा पुर्नःस्थापना केन्द्र धरान सुनसरीको आयोजनामा धरानमा संजीवनी फुटसल प्रतियोगिता हुने भएको छ ।
लागूपदार्थ दुव्र्यसनीहरुको उपचार तथा पुर्नःस्थापनामा सक्रिय रहेको केन्द्रले पुष २३ र २४ गते धरान १० स्थित धरान फुटसलको खेल मैदानमा प्रथम संजीवनी फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको आईतबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
प्रतियोगितामा ३२ टिमले सहभागिता जनाउने अपेक्षा गरिएको छ । आयोजकका अनुसार धरान, इटहरी, विराटनगर, दमक, काठमाडौंका टिमहरुले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
विजेताले नगद ५१ हजार पुरस्कार पाउनेछ भने उपविजेताले नगद ३१ हजारसहित ट्रफि, मेडल हात पार्नेछ । यस्तै, व्यक्तिगततर्फ बेष्ट प्लेयर, बेष्ट गोलकिपर र म्यान अफ दि म्याचलाई पनि पुरस्कार दिइने आयोजकले जनाएको छ ।
केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्राकारले संजीवनी धरान आफैँ पनि लागूपदार्थ प्रयोग विरुद्धको कार्य गर्ने संस्था रहेको बताउँदै खेलकुदको माध्यमबाट लागूऔषध प्रयोग विरुद्ध सकारात्मक सन्देश दिने बताए ।
उनका अनुसार फुटसल प्रतियोगिता नव खेलाडीहरुको लागि अवसर र प्रतिभा प्रदर्शन गर्न पाउनेछन् भने लागूपदार्थ मुक्त समाज स्थापना गर्नमा ठूलो भूमिका खेल्नेछ । फुटसल प्रतियोगितामा संकलन भएको रकमबाट पुर्नःस्थापना केन्द्रमा रहेका ५ जना आर्थिक अवस्था कमजोर भएका विरामीलाई निःशुल्क उपचार गरिदिने उनले बताए ।
Discussion about this post