इटहरी : भनिन्छ – ‘पानीको आफ्नै लय हुन्छ । यसको बाटोलाई न कसैले रोक्न सक्छ, न त कसैले छेक्न नै ।’ तर इटहरीमा पानीको लयलाई रोक्न खोज्दा बस्तीमा बाढी पसेको छ । पानीको लयलाई मिचेर बनाइएका संरचनाहरुका कारण बस्तीमा बाढी पसेको हो ।
बस्तीमा बाढी पसेका कारण इटहरीमा दुई सय घरहरु डुबानमा परेका छन् । इटहरी उपमहानगरपालिकाको वडा नम्बर ४, ५, ६, १० र ११ वडाका एक सय बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता (डीएसपी) नरेन्द्र कार्कीले जानकारी दिए ।
सुनसरीको बबियामा २५, भोक्राहा नरसिंहमा २७, इनरुवा ४ मरिक टोलमा १४ इटहरी १०, ११ मा एक सय घरमा बाढी पसेर डुबान भएको उनले बताए ।
केही घरहरु बिस्थापित भएका कारण इनरुवा, बबिया क्षेत्रका बासिन्दाहरु सामुदायिक भवनमा सरेका छन् ।
कार्कीका अनुसार विशेषगरी सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा, दुहबी, रामधुनी नगरपालिका, हरिनगरा, भोक्राहा–नरर्सिङ, कोसी गाउँपालिकाका बस्तीहरु डुबानमा परेका छन् ।
‘सुनसरी खोलामा पानी ओभरफ्लो भएर बस्तीमा पस्दा दर्जनौ घरहरु डुबानमा परेका छन् भने केही घरहरु बिस्थापित भएका छन्,’ कार्कीले टाकुरासँग भने, ‘सुनसरी खोला सिंगो बस्तीमै पसेका कारण धेरै घरहरु डुबानमा परेका छन्, अहिले पानी रहेकाले त्यस्तो ठूलो क्षति भएको छैन ।’
उनका अनुसार इनरुवा ९ को बबिया भोक्राहा–नरर्सिङ गाउँपालिकाको वडा नम्बर ७ को सुनसरी खोला किनाराका घरपरिवार विस्थापित भएका छन् । उता, कोसी गाउँपालिकाको वडा नम्बर ८ का ४० घर डुबानमा परेका छन् । रामधुनी नगरपालिकाको वडा नम्बर १ का दर्जन बढी घरहरु डुबानमा परेका छन् । हरिनगर गाउँपालिकामा विभिन्न वडाहरुमा सय घर भन्दा बढी डुबानमा परेको डीएसपी कार्कीले जानकारी दिए ।
शनिबार बिहान इटहरीस्थित टेङ्ग्रा र बुढीखोला किनार आसपासमा छाता ओढेर पानीको सतह हेर्दै गरेका केही पाकाहरु भन्दैथिए – ‘प्रकृतिलाई कसले रोक्न सक्छ र ? खोला मिचेर बनाएका घरहरुमा बाढी पस्नु स्वभाविक नै हो ।’ बढ्दो शहरीकरणसँगै बनेको संरचनाहरुका कारण बर्सेनि इटहरीमा बाढीले पिरोल्दै आएको छ ।
इटहरीसहित सुनसरीका विभिन्न ठाउँ तथा पूर्वी नेपालको मोरङ, झापामा समेत बाढीले बर्सेनि भौतिक तथा मानवीय क्षति गर्दै आएको छ ।
प्रदेश १ का सांसद सर्वध्वज साँवा स्वयम्ले आफ्नो घरमा बाढी पसेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । इटहरी ४ घर भएका साँवाले फेसबुकमा लेखेका छन्, ‘बाढी पसेर घर त चुर्लुप्पै भयो, आफैँ जनप्रतिनिधि कसलाई हार गुहार गर्नु !’ सांसद साँवाले स्वयम् आफ्नो घर डुबानमा परेको सूचना दिएपछि प्रष्ट हुन्छ कि, इटहरीमा बाढीको समस्या उस्तै छ ।
इटहरी ४ मा रहेको सबैभन्दा ठूलो बुढी खोला नजिकैको गैरीगाउँ र इटहरी ३ का सुनौलो बस्तीमा पनि बर्सेनि बाढीले पिरोल्दै आएको छ । इटहरी २० मा पर्ने पानीपिया खोलाले इटहरी २, २० लगायतका विभिन्न क्षेत्रमा बाढी पसेका कारण डुबानमा परेका छन् । इटहरी बजारै भएर बग्ने खेती खोला र टेङ्ग्रा खोलामा पानी थुनिएर बजारसँगै बस्तीमा पस्ने गरेका छन् । खोलाहरु मिचेर संरचनाहरु निर्माण भएका कारण बर्सेनि बाढी बस्तीमा पस्ने इटहरीका पाकाहरु बताउँछन् ।
विशेषगरी टेङ्ग्रा खोला, बुढीखोला, खेती खोलाले खासगरी इटहरीका वडा नं. ३, ४, ५, ६, ९, १०, ११ १६, १२, १३, वडा बाढीबाट प्रत्यक्ष प्रभावित बनेका छन् । यी वडाहरुमा खोला तथा सप्तकोसीबाट आउने खनार क्षेत्रको नहरले इटहरी डुबानमा पर्ने गरेको छ । यता, इटहरी २० र २ मा पर्ने तरहराको कृषि फारम, तरहराका अन्य केही ठाउँहरु, इटहरी ७ को बज्राहामा पनि पानीका कारण केही घरहरु डुबानमा परेका छन् ।
यसवर्ष मनसुन सुरु भएपछि सुनसरी र मोरङमा रहेका विभिन्न खोलाहरुमा शनिबार ठूलो बाढी आएको छ । सुनसरीको इटहरी, तरहरा, मोरङको सुन्दहरैँचा, बेलबारी लेटाङ लगायतका दर्जनौँ स्थानमा छ घण्टासम्म निरन्तर वर्षा भएको जनाएको छ । यस्तै, मोरङ र सुनसरीका बूढी, सेउती, केसलिया, लोहन्द्रा, गछिया, जौलाहा, बक्राहा लगायतका कैयौं खोलाहरुमा पानीको सतह बढेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार विभिन्न ठाउँमा बाढीका कारण घरहरु डुबान पर्ने तथा विस्थापित नै हुने समस्या भएपनि हालसम्म सुनसरीमा कुनै मानवीय क्षति भएको छैन । केहीदिनदेखि पहाडी क्षेत्रमा लगातार परेको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव समेत बढेको उनले बताए ।
सप्तकोसीमा २७ वटा ढोका खुल्ला
कोसी ब्यारेजको कन्ट्रोल रुमका अनुसार शनिबार साँझ ५ बजेसम्ममा सप्तकोसीका २७ वटा ढोका खुल्ला गरिएको छ । त्यस्तै, नदीमा पानीको बहाव एक लाख ८८ हजार नौ सय ५५ क्यूसेक रहेको कन्ट्रोल रुमले जनाएको छ । शनिबार दिउँसो ३० वटा ढोका खुल्ला गरिएको थियो भने पानीको बहाव दुई लाख २२ हजार ४७५ क्यूसेक पुगेको थियो ।
सप्तकोसीमा अधिक बहाव सात लाख क्यूसेकसम्म मापन भएको रेकर्ड छ । एक लाख ६० हजार क्यूसेकसम्मको बहावलाई सामान्य मानिन्छ । दुई लाख ५० हजारभन्दा माथि गएपछि खतराको रूपमा लिइन्छ । बहाव तीन लाख ५० हजार क्यूसेकभन्दा माथि पुगेपछि रातो बत्ती बल्छ र खतराको साइरन बज्छ ।
Discussion about this post