इटहरी : केही रूखहरू छन् । जोसँग जिस्किरहेछन् वन्यजन्तुहरू । रूखकै सहाराले वन्यजन्तुको जीवन सार्थक बनेको छ । तर, अनायसै मानिसहरू जंगल प्रवेश गर्छन् । र, काटन् थाल्छन्, तीनै रूखहरू । केही बेरमै उजाड लाग्दो बन्छ, जंगल । र, उठ्छ वन्यजन्तुको बासस्थान ।
इटहरीमा स्कुल थियटरको नवौँ संस्करणमा देखाइएको नाटक ‘हाम्रो घर’को दृश्य हो यो । जसले भावुक मात्रै बनाउँदैन, मानिसको मन पनि उद्धेलित बनाउँछ ।
कलालय इटहरीले आयोजना गरेको स्कुल थियटरमा इटहरीका २३ वटा विद्यालयका नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत ६१ जना बालबालिका सहभागी थिए । तीमध्ये १५ दिने कार्यशाला पूरा गरेका ५० जना प्रशिक्षार्थीहरूले ६ वटा नाटक प्रस्तुत गरेका हुन् ।
एउटा नाटक करिब १० देखि १५ मिनेटको रहेको थियो । स–साना बालबालिकाको अभिनय कुनै अब्बल कलाकारकोभन्दा कम थिएन । जुन नाटक इटहरीमा रुचाइयो । दर्शकहरूले करिब डेढ घण्टासम्म कुनै अल्छी नमानीकन नाटक हेरेर मनोरञ्जनसँगै विभिन्न विषयमा सन्देश लिए ।
‘एक्लो एउटा रुख खोजिरहेछ साथी,
काट्नेहरू छन् धेरै, जो चढ्छन् उसकै माथि …।’
‘हामी काटिएका रूख हौँ,
रूखका दुःख हौँ …।’
नेपथ्यमा बजिरहेको गीतले धेरै कुरा बोलिरहेको छ । नेपथ्यमा कुनै साउण्ड सिस्टमबाट गीत बजेको छैन । यहाँ गीतारको संगीतमा कलाकारहरूले नै स्वयम् गीत गाइरहेका छन् । जसले पनि नाटकलाई जीवन्त बनाउने प्रयास गरिएको छ । उक्त गीत सुगम दुलालले लेखेका हुन् ।
‘हाम्रो घर’ शीर्षकको नाटकमा रूख काट्नाले पर्यावरणमा परेको असर, जंगली जनावरको पीडाको रोदनलाई प्रस्तुत गरिएको मेन्टर रोशन आचार्यले बताए । ‘यो नाटकले पर्यावरणको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘अहिलेको समयमा अनियन्त्रित रूपमा जंगल विनाश भइरहँदा त्यसले मानव जीवनमा पार्ने प्रभावबारे चित्रण गरिएको हो ।’
उक्त नाटकको मेन्टरका रूपमा आचार्यसहित अस्मित गौतम रहेका थिए ।
नाटकको निर्देशन सुधा बस्नेतले गरेकी हुन् भने सहायक निर्देशनको भूमिकामा अदिति दाहाल रहेकी छन् । कलाकारहरूमा बस्नेत र दाहालसहित स्वरुपराज कार्की, रोशिका कालाखेती, दृष्य काफ्ले, प्रत्युस थापा, कृषा कार्की, मन्सा सुवेदी र स्मारिका चौधरी रहेका थिए ।
कलालयका अनुसार नाट्य लेखन, निर्देशन र सहायक निर्देशन कार्यशालामा सहभागी प्रशिक्षार्थीहरूले नै गरेका हुन् । यसैगरी मेन्टरको रूपमा भने यसअघि स्कुल थियटरबाटै स्थापित भएका कलाकारहरू रहेका छन् ।
दोस्रो नाटक थियो – ‘टेक्नोलोजीहरूको चकचकी ।’ जीवनमा प्रविधि आवश्यक छ, तर प्रविधि नै जीवन हो भन्ने भाष्यले समस्या भइरहेको कुरालाई नाटकमा उल्लेख गरिएको छ ।
‘अहिलेको युगमा टेक्नोलोजीको विकास भइरहेपनि यसले मानिसको दैनिकीलाई असर पारेको छ । यसैलाई मध्यनजर गरी प्रविधिको फाइदा, बेफाइदाबारे नाटकमा चित्रण गरिएको छ,’ नाटकका मेन्टर डेभिड विष्टले भने, ‘हामी प्रविधिको बेफाइदामा मात्रै केन्द्रित भयौँ । अहिलेका बच्चा प्रविधिमा मात्रै केन्द्रित हुँदा मानसिक समस्यासहित, अध्यापनमा समेत समस्या भइरहेको कुरालाई नाटकमार्फत देखाइएको छ ।’
नाटकको मेन्टरका रूपमा विष्ट र चिरञ्जीवी थापा रहेका छन् ।
यसैगरी नाटकको निर्देशन आरध्या कार्की र सहनिर्देशनमा दिव्याश्वरी थापाको भूमिका रहेको छ । कलाकारहरूमा कार्की र थापासहित काव्या जयन्ती, सभ्यता किराती, आर्यन घिमिरे, विशम पौडेल, अनिसा भुजेल र श्रृषा खनाल रहेका छन् ।
अर्को नाटक रहेको थियो – ‘विद्यार्थी जीवन ।’ यहाँ पढ्दा धेरै जान्ने विद्यार्थी र कम जान्ने विद्यार्थीबीचको तुलनालाई देखाइएको छ ।
परीक्षामा नम्बर थोरै आउँदा घरबाट समेत अपहेलित बन्नुपरेको कुरा र अरु कसैसँग प्रतिष्पर्धा गर्दा परेको असरबारे चित्रण गरिएको छ ।
‘परीक्षामा आएको नम्बरलाई लिएर अभिभावकले टपर मात्रै मान्छे हो, अरुको कामै छैन भन्ने तरिकाबाट गरेको विभेदलाई उतारिएको छ,’ नाटकमा मेन्टरको भूमिकामा रहेकी स्वेता कार्कीले भनिन्, ‘जीवनमा बाँच्नका लागि र आफ्नो खुसीको लागि नम्बर मात्रै आवश्यक होइन भन्ने सन्देश दिइएको छ ।’
दुईजना मिल्ने साथीहरूबीच अभिभावकले नम्बरको तुलना गर्दा उनीहरूको सम्बन्ध छुट्नुपरेको दृश्य नाटकमा देखाइएको छ ।
जसकारण हरेक कामको नतिजा नम्बर मात्रै होइन । र, जीवन बाँच्नका निम्ति नम्बर मात्रै उपलब्धिमूलक होइन भन्ने सन्देश दिइएको छ ।
नाटकको निर्देशन श्रेया राईले गरेकी हुन् । कलाकारहरूमा उनै राईसहित सृष्टि ढकाल, आहाना योशा सुवेदी, ओस्कार भट्टराई, अनुष्का थापा, आदित्य सुवेदी, मनिता लुइँटेल, प्रियन्सा सुवेदी र सुहम ढकाल रहेका छन् ।
अर्को नाटक हो – ‘खुशी ।’ उक्त नाटकमा बाबु र छोरी पात्र हुन्छन् । आफ्नो बाध्यताको कारण छोरीलाई छिमेकीकहाँ छाडेर विदेश जान्छन् ।
छोरीलाई पढाइमा पनि दबाब र काममा पनि बाध्यता रहेको दृश्य देखाईँदै उनको जीवनमा परेको असरलाई चित्रण गरिएको छ ।
‘पारिवारिक खुसी र सुखबाट बञ्चित हुनुपरेको पीडा र केटाकेटीले आफ्नो परिवारको साथ नपाउँदा जीवनमा परेको असरबारे नाटकमा देखाइएको छ,’ नाटकका मेन्टर ललिता विश्वकर्मा भन्छिन्, ‘बाबुले आफ्नो आँखै अगाडि छोरी हुर्काउन नपाउँदा खुसी नाम गरेकी छोरीको जीवनमा मानसिक असर पर्नु र उसको जीवनको लयमा पारेको प्रभावलाई देखाइएको छ ।’
उक्त नाटकले पुरुषबादी असमानता, समाजबाटै ग्रसित, विभेदमा बाँचिरहनुपर्ने दृश्य र अपहेलित दृष्टिकोणबाट हेर्ने चरितार्थलाई उदृत गरिएको छ । नाटकको निर्देशनमा श्रेया भट्टराई रहेकी छन् । यसैगरी कलाकारहरूमा भट्टराईसहित संस्कृति कार्की, श्रेयाशं पोखरेल, रिजन पोखरेल, रोनक अग्रवाल र समृद्धि दुलाल रहेका छन् ।
यस्तै, ‘दुर्गन्ध’ शीर्षकको नाटकले समाजको वास्तविक अवस्थालाई चित्रण गरिएको छ । उक्त नाटकमा एकजना नेता हुन्छन् । उनले फोहोर व्यवस्थापन गर्ने ठेक्का पाएका हुन्छन् । तर, गाउँबस्तीबाट उठाएको फोहोर फूलबारी भन्ने गाउँमा लगेर फालिन्छ ।
अवैधानिक र कानुन विपरीत तवरबाट फोहोर फ्याल्दा समाजमा पर्ने असर र त्यसले मानिसको ज्यानै लिएको दृश्यलाई नाटकमा उल्लेख गरिएको छ ।
आफूले पाएको जिम्मेवारी पूरा गर्न नसक्नु र नेताहरूले आफूकेन्द्रित राजनीति गर्दा सर्वसाधारण मानिसले अकालमै ज्यान गुमाउनुपरेको दृश्यलाई व्यंग्यात्मक तरिकाबाट देखाइएको थियो ।
नाटकको मेन्टरका रूपमा रहेका थिए, निशान राई । यसैगरी निर्देशनमा आरुषी कट्टेल र अभि पोखरेल रहेका छन् । कलाकारहरूमा कट्टेल र पोखरेलसहित श्रृदिम न्यौपाने, आविष्कार भट्टराई, सुदिस्ना गिरी, सफल भट्टराई, अंकिता राना मगर, स्वारांश चौधरी र असु नेपाल रहेका छन् ।
अन्तिममा प्रस्तुत गरिएको नाटक हो – ‘एक सय एक, सब् एक सय एक ।’
यहाँ विभिन्न प्रजातिका तरकारीहरू हुन्छन् । तरकारीहरू बेचिनका लागि बजारमा छन् । तर कसको मूल्य बढी महत्व हुन्छ भन्नेबारे आपसमा झगडा गर्छन् । र, उनीहरू भन्छन्, ‘मान्छेहरू जस्तो झगडा नगर ।’ सबै तरकारीहरू एक सय एक र सबैको महत्व उत्तिकै हुने कुरा नाटकमा देखाइएको छ ।
‘मान्छे पनि सबै एक सय एक नै हुन् भन्ने कुरालाई चित्रण गरिएको छ,’ मेन्टर जैनब खानले भनिन्, ‘मान्छेहरूले टिम वर्क गरेर अगाडि बढ्नुपर्छ र घमण्ड गर्नुहुँदैन भन्ने सन्देश दिइएको छ ।’
नाटकको निर्देशनमा सुहन चौलागाईँ रहेका छन् । यसैगरी कलाकारहरूमा सुहनसहित प्रयुस भट्टराई, हृदय खनाल, साम्राज्ञ दाहाल, विश्वजित अग्रवाल, समृद्धि दुलाल, सम्भवि दाहाल, क्रिन्जल विष्ट, र रिदिमा कालाखेती रहेका छन् ।
स्कुल थियटरको नवौं संस्करणका संयोजक विकास श्रेष्ठले दुई दिन प्रस्तुत गरिएको उक्त नाटक एक हजार पाँच सय बढीले हेरेका छन् । ६ वटा शो प्रस्तुत गरिएको उनले बताए । ‘म आफैँ पनि स्कुल थियटरको तेस्रो संस्करणको विद्यार्थी हुँ, हामीले अहिले निरन्तर नाटक क्षेत्रमै स्थापित हुने अभ्यास गरिरहेका छौँ,’ श्रेष्ठले भने, ‘त्यसबेला अग्रजहरूले के गर्ने, कसो गर्ने भन्नुहुन्थ्यो । अहिले स्कुल थियटरबाटै आएका विद्यार्थीहरूले नै मजबुत भएकाले त्यही टिमबाट काम भइरहेको छ ।’
कलालयकै प्रशिक्षणमा उदाएका कलाकारहरू अग्रपंक्तिमा रहेर निरन्तर नाटक गरिरहेको बताउँछन्, अर्का कलाकार प्रजल दुलाल । ‘हामीले नाटकमै जीवन खोजिरहेका छौँ । नाटकले जीवन बुझ्न मात्रै होइन, जीवन बाँच्न पनि सिकाउँछ,’ दुलाल भन्छन्, ‘नाटकले आफूलाई मात्रै होइन, समाज चिन्न पनि सिकाउँछ ।’
नाटकको नेपथ्यमा हिमाल निरौला, राजा श्रेष्ठ, हिमा पौडेल, करण प्याकुरेल, विजय श्रेष्ठ, मनिल न्यौपाने, सक्षम किराती, भवानी ढकाल, पूर्णिमा भट्टराई, विपन कार्की, प्रशुसदत्त ओझा, विमल बस्नेत, सुगम दुलाल, आशिष पुरी रहेका छन् ।
‘नाटकको कथा निर्माणदेखि निर्देशनसम्म प्रशिक्षार्थी विद्यार्थीहरूकै रहेको छ,’ कलालय इटहरीका अध्यक्ष सोनु जयन्ती भन्छन्, ‘आफूलाई म सक्छु भन्ने अनुभूति होस् भन्ने उदेश्यले सानै उमेरमै हामी सक्छौँ भन्ने भाष्य निर्माण गर्नका लागि पनि यो अभ्यास गरिएको हो ।’ उनका अनुसार कलालय इटहरीले १४ वर्षयता स्कुल थियटर सञ्चालन गरिरहेको छ ।
‘हामी सक्दैनौँ, अरुले गरेको काममै निर्मित हुनुपर्छ’ भन्ने भाष्यलाई चिर्नका लागि पनि प्रशिक्षार्थीहरूलाई नाटक क्षेत्रमा स्थापित गर्न उनीहरूले नै कथा लेखन र नाटकको निर्देशन गरेको जयन्तीले बताए ।
‘हामीले यसअघि इटहरीमा प्रदर्शन गरिरहेको मूलधारका नाटकमा सहभागी सबै कलाकारहरू स्कुल थियटरबाटै स्थापित भएका हुन्,’ जयन्ती भन्छन्, ‘हाम्रो उदेश्य कलाकार उत्पादन र तिनीहरूलाई यस क्षेत्रमै स्थापित गराउनसँगै जीवन बुझ्न सहज भन्ने हो ।’
उनले ‘थियटरले नाटक गर् भनेर नभन्ने र आफूलाई खोज्’ भन्ने उदेश्य राख्ने सुनाए । उनले थपे, ‘सबैजना नाटकमै स्थापित हुनुपर्छ भन्ने होइन, आफू जुनसुकै क्षेत्रमा भएपनि त्यहाँ नाटकले उसको जीवनलाई सहज होस् भन्ने हो । र, नाटकले मानवीय स्वभाव बुझ्न सिकाउँछ ।’
कार्यक्रममा प्रसिद्ध नाट्यकर्मी सिके श्रेष्ठले इटहरीमा समर्पणको भावनाका कारण नाट्यकर्म भइरहनु सुखद रहेको बताए ।
‘नाट्यकर्मलाई निरन्तरता दिने काम जुन भएको छ, यो निकै सन्दर कार्य हो,’ उनले भने, ‘कति ठाउँका कार्यशालामा एउटा ग्रुपलाई लिएर गरिन्छ । अर्को सालदेखि उनीहरू कहाँ जान्छन्, के गर्छन् खोजी गरिदैँन । तर, कलालयले हरेक वर्ष कार्यशाला गरिरहनु र यहाँ उत्पादन भएका कलाकारहरूलाई टिकाउन गरिएको अभ्यास साँच्चै सुन्दर छ ।’
इटहरीमा बर्सेनि स्कुल थियटरसँगै मूलधारका नाटक पनि प्रदर्शन हुँदै आएका छन् । यसअघि कलालयकै आयोजनामा दुईपटक अन्तरदेशीय साझा रङ्गमञ्चसमेत आयोजना भइकसेको छ ।
केही वर्षअघिदेखि भारतका विभिन्न सहरमासमेत सहकार्य गर्दै नाटक प्रदर्शन गर्दै आएको कलालयले जनाएको छ ।


भिडियो













Discussion about this post