इटहरी (डेस्क) : ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गर्ने क्रममा एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार इटहरी उपमहानगरपालिका ९ का ६० वर्षीय खिनबहादुर ढुंगानाको मृत्यु भएको हो ।
उनका अनुसार मन्दिर परिक्रमा गर्ने क्रममा ढलेका उनको जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको हो ।
प्राथमिक उपचार केन्द्र माथिल्लो फेदीबाट गएका स्वास्थ्यकर्मी उमानाथ पौडेलका अनुसार ढुंगानालाई प्राथमिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको थियो ।
अस्पतालका चिकित्सिकले उनलाई मृत घोषणा गरेको र उनको शव शव गृहमा राखिएको अधिकारीले बताए ।
३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा उकालो जानेक्रममा लेक लागेको हुनसक्ने चिकित्सको अनुमान छ । ढुंगाना परिवारसहित पाथीभरा दर्शनमा गएका थिए ।
आइतबार माथिल्लो फेदीमा बसेर सोमबार बिहान उनी मन्दिर दर्शनका लागि गएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post