इटहरी : सगरमाथा युथ क्लब मोरङ इटहरीमा जारी १२ औँ अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
ए डिभिजनको मनाङ–मस्र्याङ्दी क्लबलाई २ का विरुद्व ४ गोल गर्दै सगरमाथा क्लब फाइनलमा पुगेको हो । मनाङका लागि खेलको २० मिनेटमा टिम क्याप्टेन अन्जान विष्टले १ गोल गर्दै टिमलाई अग्रता दिलाए ।
यस्तै, खेलको ३० मिनेटमा पुनः मनाङकै सुमन लामाको क्रस पासमा अफिज ओलावाले थप १ गोल गरे ।
पहिलो हाफमा शून्य गोलमा सीमित बनेको सगरमाथा हाफपछि आक्रमक बन्यो । सगरमाथाले मनाङलाई लगातार ४ गोल गर्दै फाइनलका लागि सिट सुरक्षित गरेको हो ।
खेलको ६५ मिनेटमा मनाङका पुजन उपरकोटीले डिबक्सभित्र ह्याण्ड बल गर्दा पेनाल्टी पाएको सगरमाथाका लागि आशिष लामाले १ गोल गरे । लगत्तै खेलको ६९ मिनेटमा पुनः आशिषले नै थप १ गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
यस्तै, खेलको ७१ मिनेटमा सगरमाथाका लागि भुवन बस्नेतले १ गोल गर्दै टिमलाई अग्रता दिलाए ।
दोस्रो हाफपछि कमजोर बनेको मनाङका लागि पुनः खेलको ८५ मिनेटमा सगरमाथा क्लबका भुवन बस्नेतको पासमा आवास लामिछानेले १ गोल गर्दै फाइनलका लागि सुरक्षित स्थान तय गरेको हो ।
खेलको म्यान अफ द म्याच सगरमाथा क्लब मोरङका आशिष लामा घोषित हुँदै नगद दश हजार हात पारे ।
मनाङका टिम कोच राजेन्द्र तामाङले अनपेक्षित नतिजालाई स्वीकार गर्दै भने, ‘हामीले पहिलो हाफमा राम्रै खेलेका थियौँ, पेनाल्टीमा गोल फर्काएपछि अलिकति कमजोर भयौँ ।’ उनले खेल बराबरीमा गएपछि पनि ‘कमब्याक’ गर्न सकिने भएपनि खेलाडीको तालमेल नमिल्दा हार व्यहोरेको बताए ।
यता, सगरमाथाका कोच युबिन गुरुङले प्रतिष्पर्धात्मक खेल हुने अपेक्षा गरेपनि आफूहरूले मनाङलाई पराजित गर्नु स्मरणीय रहेको बताए । उनले भने, ‘दोस्रो हाफपछि हामीले रणनीति अपनाएर खेल खेल्यौँ, सोही अनुसारको नतिजा आयो ।’
आइतबारको फाइनल खेल विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौँ र सगरमाथा युथ क्लब मोरङबीच हुनेछ । खेलको विजेताले नगद सात लाख र उपविजेताले नगद तीन लाख ५० हजार हात पार्ने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।














Discussion about this post