इटहरी : सङ्गीत साधना प्रतिष्ठान नेपालद्वारा आयोजित साहित्य सङ्गीत उत्सव २०८३ अन्तर्गत शृङ्खला–५ मा कवि टीका आत्रेयको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ।
शनिबार इटहरीस्थित प्रतिष्ठानको सभाहलमा कवि आत्रेयले आफ्ना चर्चित तथा समसामयिक आठ कविता वाचन गरिन्।
उनले संकल्प (कविता महोत्सव २०७९ मा प्रथम), बास नफर्किएका घरहरूलाई, चिता पनि भनिरहेछ, वृद्ध पीडा, आँसुको कोसीमा जीवनको अन्त्येष्टि, प्रेम नायक, निरन्तर प्रश्न तथा अस्तित्वको उत्खनन शीर्षकका कविता प्रस्तुत गरिन्।
कविहरू बद्री भिखारी, सवि मेवाहाङ र प्रज्ज्वल पराजुलीले आत्रेयद्धारा रचित कविता सृष्टि, मनको गीत र मौनताको तुफान शीर्षकका रचना सुनाएका थिए।
प्रतिष्ठानका अध्यक्ष प्रदीपकुमार रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् रास्वपाका सचेतक प्रकाशचन्द्र परियार प्रमुख आमन्त्रितका रूपमा उपस्थित थिए भने कार्यक्रमको सहजीकरण सोनु जयन्तीले गरेका थिए।
कार्यक्रममा प्रमुख आमन्त्रित परियारले कवि आत्रेयको साहित्यिक योगदानको प्रशंसा गर्दै स्रष्टाहरूलाई यस्ता सिर्जनात्मक मञ्चले ऊर्जा प्रदान गर्ने बताए।
साहित्यसँगै सङ्गीतलाई पनि समेटिएको कार्यक्रममा अङ्कुर भट्टराईले रक्तिम अधर छ तिम्रो तथा टेनिसा परियारले साउने झरीमा त्यो गाउँको गोरेटो गीत प्रस्तुत गरेका थिए। सङ्गीत प्रस्तुतीमा तबलामा अङ्कुर भट्टराई, गिटारमा श्याम सुनुवार, किबोर्डमा विदुर कार्की, अक्टोप्याडमा विपिन श्रेष्ठ तथा हार्मोनियममा राजु केसीले साथ दिएका थिए।
कार्यक्रमको समापनमा कवि आत्रेयले आफ्ना सिर्जनाको भाव प्रस्तुत गर्दै भनिन्,
युगौँ दुखेको गहिरो व्यथा हुँ,
म लेख्न बाँकी कविता–कथा हुँ।
जे लेखियो त्यो, त्यसमा म छैन,
जे लेख्नुपर्थ्यो किन लेखिएन ?
उक्त पंक्तिले उपस्थित साहित्यप्रेमीको मन छोएको थियो। कार्यक्रमले साहित्य र सङ्गीतको समन्वयमार्फत सर्जक तथा दर्शकबीच सिर्जनात्मक संवाद स्थापित गरेको आयोजकले जनाएको छ।












Discussion about this post