धरान : स्थानीय तह सदस्य निर्वाचनमा गरेको खर्चको विवरण ढिलो बुझाएको भन्दै निर्वाचन आयोगले जरिवाना गर्ने निर्णय गरेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू जरिवाना तिर्न तयार रहेको तर जरिवानाको रकम भ्रष्टाचारीको पेटमा पर्न नहुने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफू साढे पाँच लाख जरिवाना तिर्न तयार रहेपनि सो रकम भ्रष्टाचारीको पेटमा परे आफू गैँती चलाएर पेट फुटाउन सक्षम रहेको भनी व्यङ्ग्यात्मक रुपमा रकम दुरुपयोग नगर्न चेतावनी दिएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘५लाख ५० हजार जरिवाना तिर्न तयार छु तर मैले तिरेको जरिवाना रकम भ्रष्टाचारीको भुँडीमा नपसोस् नत्र त्यो भुँडी फुटाउने गैती चलाउन नि आम्च हाम्लाई !’
शुक्रबार निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, काठमाडौँ महानगरका बालेन्द्र साह, उपमेयर सुनिता डङ्गोल, इटहरी उपहानगरपालिकाकी उपमेयर संगीता चौधरी, विराटनगर महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा कार्कीसहित कुल एक लाख २३ हजार ६ सय २४ उम्मेदवार तथा जनप्रतिनिधिमाथि आचारसंहिता अटेर गरेको कसुरमा जरिवाना गर्ने निर्णय गरेको थियो ।
निर्वाचन सम्पन्न भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने आयोगको सूचना अटेर गरेका कारण उम्मेदवारहरु कारबाहीमा परेका हुन् ।














Discussion about this post