इटहरी : लागूऔषध सेवन गरेर सार्वजनिक सवारीसाधन चलाउने इटहरीका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी १३ का ३८ वर्षीय प्रदीप श्रेष्ठ, र इटहरी नै घर भएका २३ वर्षीय शौरभ लाखे रहेका छन् ।
को १ ज १४८१ नम्बरको म्याजिक भ्यानमा यात्रु लिएर विराटनगरबाट सुनसरीको इनरुवातिर जाने तयारी गर्दैगर्दा विराटनगरबाट श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले विराटनगर महानगरपालिका ११ स्थित बसपार्कबाट उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ‘टेष्ट किट’को प्रयोग गरेर परीक्षण गर्दा उनले लागूऔषध डाइलेक्स डीसी र गाँजा सेवन गरेको पुष्टि भएको छ । परीक्षण गर्ने उपकरणमा किट र पिसाब राखेर जाँच गर्दा श्रेष्ठको लागूऔषध सेवन सम्बन्धी रिपोर्ट पोजिटिभ आएको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले श्रेष्ठलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ ।
यस्तै, इटहरी घर भएका २३ वर्षीय शौरभ लाखेलाई पनि प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
लागूऔषध सेवन गरेर चलाइएको मे १ ख ३०८९ नम्बरको बसका चालक रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
चालकले लागूऔषध सेवन गरे नगरेको पत्ता लगाउन सार्वजनिक यातायातको क्षेत्रलाई लक्षित गरेर विराटनगरमा ट्राफिक प्रहरीले लापसे (लागुपदार्थ सेवन) सम्बन्धी जाँच सुरु गरेको छ ।












Discussion about this post