इटहरी : सुनसरीको क्षेत्र नं. २ (क) मा नेपाली कांग्रेस इटहरी २ का वडासभापति दीपेन्द्र घिमिरेले दिएको बागी उम्मेदवारी फिर्ता लिएनन् ।
उनले उम्मेदवारी फिर्ता नलिएपछि चुनाव चिह्न रिक्सा पाएका छन् ।
गठबन्धनको तर्फबाट माओबादी केन्द्रका नेता द्वारिकलाल चौधरीले टिकट पाएपछि उनले पार्टीबाटै विद्रोह गर्दै प्रदेशसभा सदस्यमा बागी उम्मेदवारी दिएका थिए ।
इटहरीका १० वटा वडासहित रामधुनीको २ वटा पर्ने कांग्रेस क्षेत्र नं. २ (क) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेस इटहरी २ का सभापति समेत रहेका दीपेन्द्र घिमिरेले बागी उम्मेदवारी दिएका हुन् ।
आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि घिमिरेले सुनसरी सदरमुकाम इनरुवास्थित निर्वाचन अधिकृतको कार्यालयमा प्रदेशसभा सदस्यको उम्मेदवारी दर्ता गराएका थिए ।
तर, सत्ता गठबन्धनले बागी उम्मेदवारी दिएकालाई फिर्ता लिन भनेको थियो । घिमिरेले भने उम्मेदवारी फिर्ता नलिएपछि चुनाव चिह्न रिक्सा पाएका हुन् ।
‘अब चुनाव जित्नेगरी घरदैलोमा मत माग्न जाने कार्यक्रम आयोजना गर्नेछु,’ रिक्सा चुनाव चिह्न पाएपछि घिमिरेले भने, ‘पार्टीले कांग्रेसकै उम्मेदवारलाई चुनाव नदिएपछि अब विवेकशील मतदाताले मलाई चुनाव जिताउने विश्वास लिएको छु ।’
यसैबीच नेपाली कांग्रेसले गठबन्धनविरुद्ध बागी उमेदवारी दिएका पार्टीका नेता कार्यकर्ताहरूलाई कारबाही गरेको छ । पार्टीको निर्देशन विपरीत उमेदवारी फिर्ता नलिएका उमेदवार र उनीहरूका प्रस्तावक र समर्थकलाई कांग्रेसले कारबाही गरेको हो ।
उनीहरूलाई पार्टीको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।














Discussion about this post