झापा : झापाका दुई छुट्टा–छुट्टै स्थानहरूबाट लागूऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका ८ का ३६ वर्षीय आसिर खाँ, बुद्धशान्ति गाउँपालिका ३ का २४ वर्षीय अजय तामाङ, १९ वर्षीय संदेश राई र २० वर्षीय सन्तोष राजवंशी रहेका छन् ।
घरमा नै लागूऔषध भण्डारण गरी लागूऔषधको बेचबिखन गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले खाँलाई ३० ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुधबारेबाट चारआलीतर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा अटोमा लुकाई–छिपाई ल्याउँदै गरेको लागूऔषध ब्राउनसुगर ५ ग्राम ११० मिलिग्रामसहित तामाङ, राई र राजवंशीलाई पक्राउ गरिएको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post