विराटनगर : झापा र मोरङको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका ९ शनिश्चरे बजारमा प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने २७ वर्षीय आशिष लिम्बूलाई शंकास्पद अवस्थामा फेला पारी उनको घरमा चेकजाँच गर्दा घरको कोठाबाट लुकाईछिपाई राखेको अवस्थामा १० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी झापाको अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्कमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्कस्थित रहेको एक लजमा बस्दै आएका शिवसताक्षी ९ का २१ वर्षीय प्रेम सागर सावा, मेचीनगर १२ का २० वर्षीय मनिष बराल र मोरङ मिक्लाजुङ ४ का १९ वर्षीया तिलु राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरूको साथबाट २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर फेला पारी प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुल स्थितबाट भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री बिर्तामोड १ का २१ वर्षीय विशाल धिमालको साथबाट १ ग्राम लागूऔषध ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post