विराटनगर : कोसी प्रदेश सरकारले आर्थिक वर्ष २०८०।०८१ को बजेटमा प्रदेशका कर्मचारीहरूलाई दैनिक खाजा खर्च बापत दुई सय रुपैयाँ दिने व्यवस्था गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एकातिर स्रोतको अभाव रहेको भन्दै प्रदेशबासीको विकासीय बजेट कटौती गर्ने र अर्कोतिर प्रदेशबासीले तिरेको करबाट कर्मचारीलाई खाजा खुवाउने कार्यक्रम ल्याएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
प्रदेशका १९१ निकाय तथा कार्यालयमा कुल स्वीकृत दरबन्दी ३ हजार ९८४ मध्ये ५८ दशमलव ६ प्रतिशत अर्थात् २ हजार ३३५ मात्रै पदपूर्ति छन् ।
यसमा १ हजार ७७९ स्थायी र ५५६ करारमार्फत पदपूर्ति रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यस प्रदेशमा स्वीकृत दरबन्दीमध्ये १ हजार ६४९ दरबन्दी रिक्त रहेको छ ।
प्रदेश सरकारले ल्याएको कर्मचारीलाई खाजा कार्यक्रमअन्तर्गत विद्युतीय हाजिरीको आधारमा २ हजार ३३५ जना कर्मचारीले दैनिक २ सयको दरले खाजा खर्च पाउने छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रवक्ता केशवप्रसाद अर्यालले चालु आर्थिक वर्षमा प्रदेश सरकारले कर्मचारीलाई एकमुष्ठ एक महिनाको तलब दिने सुविधाभन्दा दुई सय रुपैयाँ खाजा खर्च सस्तो पर्ने बताए ।
अघिल्लो वर्ष पनि प्रदेश सरकारले कर्मचारीहरुलाई खाजा खर्च बापत दैनिक दुई सय रुपैयाँ उपलब्ध गराउने कार्यक्रम ल्याएर कार्यान्वयन गरेको थियो ।














Discussion about this post