इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा इटहरी कांग्रेसमा आगामी नेतृत्वबारे बहस सुरु भएको छ ।
नगर सभापतिका लागि आकांक्षीहरूबीच आन्तरिक छलफल र भेटघाट बढेसँगै संगठनलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने विषय पनि चर्चामा आउन थालेको छ ।
इटहरी कांग्रेसको नेतृत्वका लागि विकास केसी, कोविदजंग कार्की र बालकृष्ण विष्टलगायतका नामहरू चर्चामा छन् । अधिवेशनको प्रक्रिया अघि बढ्दै जाँदा आकांक्षी थपिन सक्ने र समीकरणमा समेत परिवर्तन आउन सक्ने नेताहरू बताउँछन् ।
केसी यसअघि तीनपटकसम्म सभापतिको उम्मेदवार बनिसकेका छन् । केसीकै प्यानलबाट विष्ट उपसभापतिमा विजयी भएका थिए भने कार्की नगर सभापति हेमकर्ण पौडेलको प्यानलबाट उपसभापति बनेका हुन् ।
यसपटकको नेतृत्व बहसलाई सभापतिको प्रतिस्पर्धाका रूपमा भन्दा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने अवसरका रूपमा हेरिनुपर्ने आवाज कांग्रेसभित्र उठ्न थालेको छ ।
वर्तमान नगर सभापति हेमकर्ण पौडेलले लामो समय इटहरी कांग्रेसको नगर सभापतिको जिम्मेवारी सम्हालेका छन् । अब उनी पुनः दोहोर्याउने पक्षमा छैनन् । नगर सभापतिको जिम्मेवारीपछि उनी इटहरी उपमहानगरपालिकाको प्रमुखसमेत बने ।
स्थानीय सरकारको नेतृत्व सम्हाल्नुपर्ने जिम्मेवारी बढेसँगै पार्टी संगठनमा विगतमा जस्तो नियमित समय दिन कठिन भएको कांग्रेसका कतिपय कार्यकर्ताको बुझाइ छ ।
स्थानीय सरकार र पार्टी संगठन दुवैको जिम्मेवारी फरक प्रकृतिको भएकाले नेतृत्व परिवर्तनको बहसलाई व्यक्तिको योगदानको मूल्यांकनभन्दा बदलिएको परिस्थितिअनुसार संगठनलाई नयाँ गति दिने विषयसँग जोडेर हेर्नुपर्ने कांग्रेसका नेताहरूको धारणा छ ।
इटहरी कांग्रेसको आगामी नेतृत्वका लागि आकांक्षीहरूले संगठनलाई वडा तहसम्म सक्रिय बनाउने, युवा पुस्तालाई पार्टीमा आकर्षित गर्ने र कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने देखिने कार्यकर्ताहरूको भनाइ छ ।
खासगरी यसपटक पार्टीलाई सुदृढीकरण बनाउन नेतृत्व सर्वसम्मत बनाउने प्रयाससमेत भएको छ ।
इटहरीमा २० वटा वडा रहेकाले नगर नेतृत्वको मुख्य चुनौती वडा संगठनलाई नियमित र प्रभावकारी बनाउनु पनि हो ।
पछिल्लो समय राजनीतिक गतिविधिमा युवाको सहभागिता बढ्दै गएको अवस्थामा उनीहरूलाई पार्टीका गतिविधि र निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा जोड्ने विषयलाई पनि नेतृत्व चयनको महत्वपूर्ण आधार बनाउनुपर्ने कार्यकर्ताहरूको भनाइ छ ।
महिला तथा विभिन्न समुदायको सहभागिता बढाउने, नियमित संगठनात्मक गतिविधि सञ्चालन गर्ने र आगामी निर्वाचनका लागि समयमै तयारी गर्ने विषय पनि नयाँ नेतृत्वका लागि चुनौतीका रूपमा रहनेछन् ।
अधिवेशनमार्फत आउने नेतृत्वले निर्वाचित भएपछि सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने कार्यकर्ताको अपेक्षा छ । गुटगत प्रतिस्पर्धाभन्दा संगठनलाई प्राथमिकता दिने, सबै वडासँग नियमित समन्वय गर्ने र पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने नेतृत्व आवश्यक रहेको उनीहरूको भनाइ छ ।
आकांक्षीहरूले पनि आफ्नो उम्मेदवारीसँगै आगामी कार्यकालमा संगठन कसरी सञ्चालन गर्ने भन्ने स्पष्ट योजना प्रस्तुत गर्नुपर्ने आवश्यकता देखिन्छ ।
विशेषगरी युवा लक्षित कार्यक्रम, वडा संगठनको सुदृढीकरण, प्रशिक्षण, नियमित राजनीतिक गतिविधि र आगामी निर्वाचनको तयारीबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गर्न सके कार्यकर्तालाई नेतृत्व छनोटमा सहज हुने देखिन्छ ।
अधिवेशनमा हुने प्रतिस्पर्धा कांग्रेसको आन्तरिक लोकतान्त्रिक अभ्यास पनि हो । त्यसैले प्रतिस्पर्धालाई स्वाभाविक रूपमा स्वीकार गर्दै निर्वाचनपछि सबै पक्षलाई समेटेर संगठन अघि बढाउने राजनीतिक संस्कार विकास गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता हुन सक्ने जानकारहरू बताउँछन् ।
इटहरी कांग्रेसमा नेतृत्व परिवर्तनको बहससँगै पुरानो अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच सन्तुलन कायम गर्ने विषय पनि उत्तिकै महत्वपूर्ण देखिन्छ । नेतृत्वमा आउने व्यक्ति जो भए पनि संगठनलाई सक्रिय, समावेशी र कार्यकर्तामैत्री बनाउने चुनौती भने समान रहनेछ ।












Discussion about this post