इटहरी : झापा र मोरङका तीन छुट्टाछुट्टै स्थानबाट सोमबार प्रहरीले लागूऔषध ब्राउनसुगरसहित सातजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एकजना इटहरीका छन् भने अरु विभिन्न ठाउँका छन् ।
लागूऔषध ब्राउनसगुरको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका १३ का २५ वर्षीय तुलसी राजवंशीलाई ८५० मिलिग्राम लागूऔष ब्राउनसुगरसहित फूलबारी टोलबाट पक्राउ गरेको हो ।
यसैगरी प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका १ का २० वर्षीय विशाल दमाईलाई २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित चारआली चोकबाट पक्राउ गरेको हो ।
यस्तै, सोही स्थानबाट स्थानीय २१ वर्षीय गणेश राजवंशी, अर्जुनधाराका २७ वर्षीय निकाश अधिकारी, मेचीनगर नगरपालिका ६ का ५५ वर्षीय डम्बरबहादुर तामाङ र मेचीनगर नगरपालिका ७ का १७ वर्षीय अभिषेक सिवालाई ४ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, विराटनगर महानगरपालिका १५ बाट इटहरी ४ का उपेन्द्र ठकुरीलाई ०.४३ ग्राम लागूऔषध ब्राउनसुगरसहित लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post