आज आइतबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ ।
वर्षको पहिलो सूर्यग्रहण ३ घण्टा ३३ मिनेटसम्म लाग्नेछ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ ।
सूर्यग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम रहनेछ ।
सूर्यग्रहणका बेला गर्भवती महिला, बालबच्चा, रोगी र वृद्धवृद्धाले खुला आकाशमा सूर्यतर्फ हेर्न नहुने सुझाव ज्योतिषले दिएका छन् ।
सूर्यग्रहणको शूतक भने शनिबार राति १० बजेर ५० मिनेटदेखि नै सुरु भइसकेको छ ।
ज्योतिषशास्त्रअनुसार खण्डग्रास सूर्यग्रहण मेष, सिंह, कन्या र मकर राशिका मान्छेहरूका लागि राम्रो छ । वृष, मिथुन, कर्कट, तुला, वृश्चिक, धनु, कुम्भ र मीन राशिका व्यक्तिका लागि अशुभ रहेको ज्योतिषहरूले बताएका छन् । मेष राशिका व्यक्तिलाई श्रीप्राप्ति, सिंह राशिका व्यक्तिलाई लाभ हुने, कन्यालाई सुख र मकर राशिलाई पनि सुख रहेकोे सूर्य पञ्चांगले जनाएको छ ।
यस्तै, मृगशिरा नक्षत्र, आद्र्रा नक्षत्र र मिथुन राशिका व्यक्तिहरूले ग्रहण अवलोकन गरेमा अति कष्ट हुने ज्योतिष सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । ज्योतिषशास्त्रले राशिफलका आधारमा ग्रहण हेर्न हुने र नहुने बताए पनि खगोल विज्ञानले यसलाई अवैज्ञानिक तर्कका रूपमा लिँदै सुरक्षित लेन्सको प्रयोगले ग्रहण हेर्न सकिने बताएको छ ।
















Discussion about this post