इटहरी : इटहरी उपमहानगरपालिकाले तीन सय प्रतिशतभन्दा बढी कर वृद्वि गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विरोध प्रदर्शन गरेको छ ।
सोमबार (आज) उपमहानगर गेट अगाडि दर्जन बढी रास्वपाका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन् ।
रास्वपाले कर वृद्विको विरोध जनाउँदै गत साउन २५ गतेदेखि लगातार उपमहानगर अगाडि प्रदर्शन गरिरहेको छ ।
‘हामीले शनिबारबाहेक हरेक दिन प्रदर्शन गरिरहेका छौँ,’ पार्टी प्रदेश प्रवक्ता कमलबाबु मैनालीले भने, ‘हामीले राजनीतिक प्रतिशोध साँध्न होइन, जनतासँग प्रत्यक्ष जोडिएको विषय भएका कारण यो मुद्वा उठाएका हौँ ।’
उनकाअनुसार पार्टीले हरेक दिन शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै आएको छ । कर समायोजन नभएसम्म निरन्तर विरोध प्रदर्शन गर्ने मैनालीले बताए ।
रास्वपा इटहरी नगरका संगठन प्रमुख खेमराज नवीन पोखरेलले इटहरीका मेयर हेमकर्ण पौडेलले पत्र काटेर वार्तामा बोलाउनुपर्ने बताए ।
‘हामीले ज्ञापनपत्रसमेत बुझाएका छौँ । चिया गफका लागि उपमहानगरमा बोलाइएको रहेछ,’ उनले भने, ‘वार्ताको चिट्ठी आउनुपर्छ । मौखिक भरमा कसरी जाने ?’ अहिले कर वृद्विको विषयमा रास्वपालाई इटहरीका नागरिकको मौन समर्थन रहेको उनले बताए ।
‘हामीले कर वृद्विको विषयमा आवाज उठाउँदा मेयर सा’बले राजनीतिक खिसिट्युरी गर्नुभयो,’ उनले भने, ‘राजनीतिको विभिन्न पाटो होला । तर, अहिलेको मुद्दा करको हो ।’
नागरिकले कर वृद्विका कारण दुःख पाएको अनुभूत गर्दै हरेक दिन विरोध गरिरहेको उनले बताए ।
विरोध प्रदर्शनमा रास्वपा कोसी प्रदेशका महामन्त्री लालविक्रम थापा, प्रवक्ता कमलबाबु मैनाली, प्रदेश विभागीय सदस्य देवराज अधिकारी, जिल्ला संयोजक जीवन श्रेष्ठ, नगर कार्यबाहक सभापति हरिमाया अधिकारी, इटहरी नगरका संगठन प्रमुख खेमराज नवीन पोखरेलसहित वडा कमिटिका पदाधिकारी तथा सदस्यहरू उपस्थित थिए ।















Discussion about this post