इटहरी उपमहानगरपालिकाले आर्थिक बर्ष २०७७।०७८ का लागि कुल १ अर्ब ७८ करोड बजेट बिनियोजन गरेको छ । कुल बजेट १ अर्ब ७८ करोड बिनियोजन गरिएको हो ।
चालूतर्फ ७१ करोड ७५ लाख, पुँजीगततर्फ १ अर्ब ४ करोड ८५ लाख र बित्तीयतर्फ १ करोड ४० लाख बजेट बिनियोजन गरिएको हो ।
संघीय समानीकरण सरकारबाट ३० करोड ९२ लाख, संघीय सर्शत अनुदानबाट ४१ करोड १८ लाख, संघीय राजश्व बाँडफाँडतर्फ १५ करोड ५ लाख ८६ हजार ४१०, संघीय समपुरकबाट १ करोड, प्रदेश राजश्व बाँडफाँडबाट २४ करोड २१ लाख ४३ हजार ५९०, आन्तरिक आयबाट ३८ करोड १५ लाख तथा तराई मधेश समृद्धि कार्यक्रमबाट ३५ लाख, साशकीय सुधार कार्यक्रमबाट २ करोड, न्यूनबित्त परिचालनबाट ५ करोड ५० लाख र अपुग हुने १० करोड संचित कोषको मौज्दात परिवर्तनबाट प्राप्त गरी पूर्ति गरिने इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बताईन् ।
उपमहानगरपालिकाले शिक्षा क्षेत्रका लागि २ करोड, स्वास्थ्य क्षेत्रका लागि २ करोड ५० लाख, संस्कृति, भाषा, साहित्य र कलाका लागि १ करोड, विपन्न समुदाय स्तरोन्नतीका लागि ५० लाख, कृषिका लागि ३ करोड ५० लाख, विपद् व्यवस्थापनका लागि १ करोड, स्मार्ट पार्किङका लागि ५ करोड २५ लाख, मुख्य सहरी क्षेत्रको सौन्दर्यकरणका लागि १ करोड, सवारी पार्किङका निम्ति ५० लाख, नगर बस सञ्चालनका लागि ५० लाख, गुरु योजनाका लागि १ करोड बजेट बिनियोजन गरिएको छ ।
त्यस्तै, नदी नियन्त्रणका लागि १ करोड ५० लाख, भवन निर्माण तथा जग्गा खरीदका लागि २ करोड ५० लाख, प्रशासकीय व्यवस्थापनका लागि १ करोड ५० लाख, सञ्चार क्षेत्रका लागि २५ लाख बजेट बिनियोजन गरिएको छ ।
आगामी आर्थिक बर्षभित्र नगर क्षेत्रका विभिन्न ठाउँमा ५० किलोमिटर सडक कालोपत्रे गर्ने तयारी थालिएको उपप्रमुख गौतमले बताईन् ।
आगामी बर्षदेखि नगर क्षेत्रका बाँजो रहेका जमीनमा कृषि उत्पादनलाई प्राथमिकता दिईने बताईएको छ । उपप्रमुख गौतमले बजेट प्रस्तूत गर्दै भनिन्, ‘विभिन्न कारणले गर्दा अहिलेसम्म हामीले चाहेर पनि विकास निर्माणका काम अपेक्षाकृत हुन सकेको छैन, हामीले अपेक्षाकृत बजेट पनि प्रस्तूत गर्न सकेनौँ ।’
उनले नगर क्षेत्रमा रहेका ३४ वटा सामूदायिक विद्यालयको स्तरोन्नतीका निम्ति सीसी क्यामेराको जडानमार्फत अध्यापन गरिने बताईन् ।
शिक्षा क्षेत्रमा पनि भाषा, साहित्य र कला क्षेत्रलाई प्राथमिकता दिईने गौतमको भनाई रहेको थियो ।















Discussion about this post