विराटनगर : विराटनगरमा बिहीबार (भोलि) हुने राधाकृष्ण रथयात्राका लागि सबै तयारी पूरा भएको छ ।
ठूलो संख्यामा श्रद्धालु भक्तजन सहभागी हुने यो यात्राका लागि विराटनगरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । विराटनगरमा धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको राधाकृष्ण रथयात्राको सबै तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।
विराटनगरको पहिचानसँग जोडिएको रथयात्रा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकाल्ने परम्परा छ । हजारौं भक्तजनको उपस्थितिमा राधा र कृष्णको युगल जोडीसहितको रथलाई विराटनगर बजार परिक्रम गराउने चलन छ । बिहीबार निकालिने रथयात्राको सबै तयारी पूरा भएको राधाकृष्ण रथयात्रा समारोह समितिले जनाएको छ ।
विराटनगर महानगरपालिका १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रालाई भव्य, सभ्य र व्यवस्थित बनाउन विभिन्न १८ वटा उपसमिति गठन गरेर परिचालन गरिएको छ ।
राधाकृष्ण रथयात्रा मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले रथयात्राका लागि प्यागोडा शैलीको रथलाई सजाउने, सरसफाई गरेर रुट व्यवस्थित बनाउनेलगायत व्यवस्थापनका सबै काम सम्पन्न गरिएको जानकारी दिए । रथको श्रृङ्गारका लागि भारतको कोलकाताबाट ६ जना कालीगढ झिकाइएको थियो ।
रेग्मीका अनुसार रथयात्राका लागि २२ फिट लम्बाइ, १४ फिट चौडाइ र १८ फिट उचाइ भएको रथ तयार पारिएको छ । भक्तजनलाई रथ तान्नका लागि रथको अग्रभागबाट ७५–७५ फिट लम्बाइको दुईवटा डोरी राखिने छ । दायाँतर्फको डोरीबाट पुरुष तथा बायाँतर्फको डोरीबाट महिलाले रथ तान्ने जानकारी रेग्मीले दिए ।
दिउँसो ३ बजे राधाकृष्ण मन्दिर परिसरबाट निस्किने रथयात्राको रुट तय भइसकेको छ । विराटनगरको मेनरोड हुँदै गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष चोक, बसपार्क, महेन्द्र चोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर रथयात्राको बिसर्जन गरिने छ ।
रथयात्रका लागि करिब ९ किलोमिटर दूरी तय गरिएको छ । विभिन्न ६० वटा झाँकीसहित निकालिने रथलाई ४३ स्थानमा विश्राम दिइने उनले बताए । विभिन्न जातजाति, धर्म र समुदायका झाँकीसहित भक्तजनको उपस्थितिले रथयात्रा भव्य हुने रेग्मीको भनाइ छ ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बुधबार प्रहरीलाई ‘विशेष बिफ्रिङ’ गर्दै रथयात्राको सुरक्षामा कुनै पनि कमजोरी हुन दिन नहुने स्पष्ट पारेका छन् ।
रथयात्राका लागि मजवुत र भरपर्दो सुरक्षा व्यवस्था मिलाउन एसपी पोखरेलसहित डीएसपीहरु रन्जनकुमार दाहाल, विजय श्रेष्ठ, छेदीलाल कामतीलगायतका प्रहरी अधिकारी आफैं फिल्डमा खटिने छन् ।
सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने छ । भक्तजनलाई विभिन्न सुझाव दिएर सचेत गराउँदै प्रहरीले शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाएको छ ।
राधाकृष्ण मन्दिर परिसरदेखि विराटनगरका विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरेर सुरक्षा निगरानी गर्न थालिएको छ । रथयात्राको अवलोकनमा धेरै भक्तजनहरुको उपस्थिति हुने हुँदा भीडभाडको फाइदा उठाउँदै चोरी, लुटपाट, पाकेटमारीलगायतका घटना हुनसक्नेतर्फ प्रहरीले सबैलाई सचेत गराएको छ ।
रथयात्राको अवलोकनमा धेरै भक्तजनहरुको उपस्थिति हुने हुँदा भीडभाडको फाइदा उठाउँदै चोरी, लुटपाट, पाकेटमारीलगायतका घटना हुनसक्नेतर्फ प्रहरीले सबैलाई सचेत गराएको छ ।



















Discussion about this post