इटहरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सडक कालोपत्रे निर्माणमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाइ भुक्तानी गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा अनियमितता भएको पाइएपछि मुद्दा दायर गरिएको हो ।
आयोगले रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सबिनाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी, सवइञ्जिनियर हर्षलाल चौधरीविरुद्ध दुई लाख १२ हजार ७३ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
आयोगका अनुसार रामधुनी नगरपालिका ३ का वडाध्यक्ष राजकुमार चौधरी, वडा सदस्य टीकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौँ सुनीलकुमार चौधरीविरुद्ध पनि समान बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ ।
निर्माण कम्पनी जाल्पासिद्ध निर्माण सेवा पुली सुनसरीमा प्रोप्राइटर नानुकुमारी निरौलाविरुद्ध दुई लाख १२ हजार ७३ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।














Discussion about this post