इटहरी : सशस्त्र प्रहरीले सुनसरीबाट एक करोड एक लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीका डीएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले शनिबार राति हुन्डीको आशंकामा एक करोड एक लाख नगदसहित एक जनालाई पक्राउ गरेको जानकारी दिए ।
पक्राउ पर्नेमा सुनसरी जिल्ला हरिनगर गाउँपालिका ५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारी रहेका छन् ।
थापाका अनुसार सुनसरीको हरिनगर गाउँपालिका ५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।
बरामद भएको रकममा एक हजार दरको नोट नौ हजार सात सय थान (९७ लाख) र पाँच सय दरको आठ सय थान (४ लाख) रहेको छ ।
रकमसँगै कार र चालक अन्सारीलाई नियन्त्रणमा लिइएको बताए । नगद रकम, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा रहेको छ ।














Discussion about this post