इटहरी (डेस्क) : सुनसरीको बराहक्षेत्र–१ चतराका एक बालकमाथि कुटपिट भएको चौबिस घण्टाभित्र मृत्यु भएपछि कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै आफन्तले प्रहरीमा उजुरी दिएका छन् ।
चुङ्गी खेल्ने क्रममा दुई बालकबीच भएको झगडामा एक बालककी आमाले कुटपिट गरेकी हुन् । स्थानीय निरमाया राईले ९ वर्षीय जब्सन राईलाई कुटपिट गरेको कारणले मृत्यु भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका हुन् ।
तर, उजुरी उपर कारबाही नगरेर उल्टो प्रहरी नै पीडकलाई संरक्षण गर्न लागिपरेको पीडित पक्षको आरोप छ । मृतकका बडाबा प्रकाश राईले भने, ‘प्रहरी कार्यालयमा किटानी उजुरी जाहेर गर्दा हामीलाई झुलाइयो, निवेदन लिनुभयो, दर्ता नभएको पाइयो, षड्यन्त्रपूर्वक झुलाइयो ।’
शनिबार साँझ ५ बजेतिर मृतक जब्सन र ८ वर्षीय रोनी राईबीच चुङ्गी खेल्ने क्रममा झगडा भएको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
झगडा भएपछि पीडक भनिएकी निरमायाले मृतक जब्सन र आफ्नो छोरा रोनीलाई सिर्कनुले दुई–दुई पटक हिर्काएको प्रत्यक्षदर्शी चुनु लिम्बूले बताइन् ।
कुटपिट भएको राति छोराले छाती दुख्यो भनेर भनेको र भोलिपल्ट उपचारको लागि हस्पिटल ल्याउँदा मृत्यु भएको मृतक जब्सनका बडाबा राईले बताए ।
















Discussion about this post