विराटनगर : विराटनगर महानगरपालिकाले सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउन सुरु गरेको छ ।
महानगरले विराटनगर–१९ बाट रेबिजविरुद्धको खोप लगाउन सुरु गरेको हो ।
सडक तथा सामुदायिक कुकुरले मानिसलाई टोकेमा रेबिज रोग नसरोस् भन्ने उद्देश्यले महानगरका सबै वडामा खोप लगाउन सुरु गरिएको भेटनरी शाखाका अधिकृत हिरालाल यादवले जानकारी दिए ।
आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको उपस्थितिमा पहिलो चरणमा विराटनगर–१९ का मिलन चोक, घिनाघाट, मुसरी टोललगायतका विभिन्न स्थानमा कुकुरलाई नियन्त्रणमा लिएर रेविजविरुद्धको खोप लगाइएको थियो ।
वडा नम्बर १९ का अध्यक्षसमेत रहेका घिमिरेले ब्यानर पढेर खोप अभियानको शुभारम्भ गरेका थिए । डगनेटमार्फत कुकुरलाई नियन्त्रणमा लिई प्राविधिकहरूले खोप लगाउने गरिएको यादवले बताए ।
दैनिक ३० देखि ४० वटा सडक तथा सामुदायिक कुकुरलाई खोप लगाउने गरिएको छ । यादवका अनुसार १५ दिनसम्म सञ्चालन हुने खोप अभियानमा ६ सय कुकुरलाई खोप लगाउने लक्ष्य लिइएको छ ।












Discussion about this post