धरान : चौतर्फी विरोध र दबाबपछि स्वास्थ्य बीमा बोर्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई आगामी असोज मसान्तसम्मका लागि प्रथम सेवा केन्द्रको रूपमा यथावत् राख्ने निर्णय गरेको छ।
स्वास्थ्य बीमा बोर्डले लागू गरेको नीतिअनुसार सार्वजनिक, विशेषज्ञ, विशिष्टिकृत तथा शिक्षण अस्पतालहरूमा केवल रिफरल सेवा मात्र दिने व्यवस्था कार्यान्वयन गर्न खोजिएको थियो। सोही निर्णयका आधारमा प्रतिष्ठानलाई साउन १ गतेदेखि प्रथम विन्दुको सूचीबाट हटाउने भनिएको थियो।
तर, मन्त्रिपरिषद्को निर्णयअनुसार वैकल्पिक स्वास्थ्य सेवा केन्द्र नहुँदासम्म यस्तो परिवर्तन नगर्न भनिएको हुँदा हाललाई बीपी प्रतिष्ठानमा असोज मसान्तसम्मका लागि पुनः प्रथम विन्दुबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।
स्वास्थ्य बीमा बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ, “तदनुसार हालसम्म वैकल्पिक सेवा विन्दु स्थापनाको व्यवस्था नभएकोले स्वास्थ्य बीमा सेवा प्राप्त गर्ने नागरिकमा समस्या नहोस् भन्ने उद्देश्यले बीपी प्रतिष्ठानमा २०८२ असोज मसान्तसम्मका लागि सेवा प्रवाह हुने गरी प्रथम तथा रिफरल सेवा केन्द्र दुवै रूपमा कायम गर्ने निर्णय गरिएको व्यहोरा अनुरोध छ।”
बीमा सम्झौता पनि नवीकरण
बीपी प्रतिष्ठानका अस्पताल प्रमुख डा. अशोककुमार साहका अनुसार स्वास्थ्य बीमा बोर्डसँगको सेवा सम्झौता पनि नवीकरण भइसकेको छ। सम्झौता नवीकरण भएकाले पत्र भने बिहीबार आउने उनले बताए ।
खासगरी स्वास्थ्य बीमा बोर्डको अघिल्लो निर्णयविरूद्ध धरानमा सर्वपक्षीय संघर्ष समिति, राजनीतिक दलहरू र नागरिक समाजले विरोध प्रदर्शन गर्दै आएका थिए।















Discussion about this post