ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित बनपाला सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक शिक्षिकाको मृत्यु भएको छ।
आइतबार बिहान करिब ९ बजे सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिका–३ सिकैचातर्फ जाँदै गरेको मे १ ज ३२९६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका ३० वर्षीया भावना बिकको उपचारका क्रममा मृत्यु भएको हो। मृतक बिक फुङलिङ नगरपालिका ११ फावाखोलाकै हुन्।
फुङलिङ नगरपालिका–११ फावाखोलाका वडाध्यक्ष युवराज भट्टराईका अनुसार बोलेरो ब्रेक फेल भएर करिब ८० मिटर तल खसेको थियो। दुर्घटनाको समयमा जिपमा मृतक बिक र चालक मात्र थिए।
“बर्खे बिदापछि स्कुल आजैदेखि खुलेको थियो, भावना विद्यालयतर्फ जाँदै गर्नुभएको थिएछ,” वडाध्यक्ष भट्टराईले भने, “अरू यात्रु बाटोमा ओर्लिइसकेका थिए, उहाँ मात्रै गाडीमा रहनुभएको रहेछ। टर्निङमा मोड्दा गाडी तल खसेको भेटियो।”
घटनामा चालक विष्ट घाइते छन् । उनको अवस्था सामान्य रहेको र उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।














Discussion about this post