इटहरी : करुणा फाउन्डेसन नेपालले जर्मन ह्यान्ड्स प्रोजेक्टसँगको सहकार्यमा कोशी प्रदेशका २०४ जनालाई निःशुल्क कृत्रिम हात वितरण गर्ने भएको छ ।
कात्तिक १७ गतेदेखि २६ गतेसम्म इटहरीमा आयोजना हुने कार्यक्रममा दुर्घटना, करेन्ट वा अन्य विभिन्न कारणले हात गुमाएका व्यक्तिहरूलाई कृत्रिम हात जडान गरिने फाउन्डेसनले जनाएको छ ।
कृत्रिम हातको आवश्यकता सम्बन्धी सूचना प्रकाशित भएपछि, देशभरका जम्मा ४२८ जना व्यक्तिहरूलाई कृत्रिम हातको आवश्यकता भएको सूचीबद्ध गरिएको छ ।
पहिलो चरणमा कोशी प्रदेशका लाभग्राहीहरूलाई छनोट गरिएको हो । लाभग्राहीहरूको विवरण देशभरबाट सङ्कलन गरिएको भएपनि पहिलो चरणमा कोशी प्रदेशका लाभग्राहीहरूलाई कृत्रिम हात निःशुल्क वितरण गरिने संस्थाले जनाएको छ।
कृत्रिम हात जडानका लागि जर्मनी, न्युजिल्यान्ड र युगान्डाका विज्ञहरूसहितको प्राविधिक टोली छिट्टै नेपाल आउने फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वितरण गरिने कृत्रिम हातहरू हल्का, सहज र प्राकृतिक देखिने प्रकारका हुनेछन् । फाउन्डेसनका अनुसार, हातको अभावले व्यक्तिको दैनिक जीवन, आत्मविश्वास र रोजगारीमा परेको असरलाई कम गर्न अभियान सञ्चालन गरिएको हो ।
कृत्रिम हात जडानपछि लाभग्राहीहरूले खाना पकाउने, लेख्ने, वस्तु समात्ने, कपडा लगाउने, खेतीपाती तथा व्यावसायिक कामहरू पुनः गर्न सक्नेछन् ।
शिविरमा भोजपुरका १०, इलामका ३, झापाका ६१, खोटाङका २५, मोरङका १४, ओखलढुंगाका १९, पाँचथरका २२, सोलुखुम्बुका ८, सुनसरीका ८, तेह्रथुमका २ र उदयपुरका २५ जनालाई कृत्रिम हात जडान गरिने आयोजकले जनाएको छ ।













Discussion about this post