धरान : धरान उप–महानगरपालिका–२० भन्ज्याङ क्षेत्रमा लागूऔषध ओसारपसार हुँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ।
सोमवार दिउँसो १ः३० बजेतिर अस्थायी प्रहरी चौकी विष्णुपादुकाबाट खटिएको टोलीले को १ ज २१७८ नम्बरको यात्रुवाहक पिकअप गाडी चेकजाँच गर्ने क्रममा गाडीको पछाडितर्फ रहेको डाला खोल्दा ५ वटा कालो झोलामा प्याक गरी राखिएको अवस्थामा ५० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
चेकजाँचका क्रममा गाडीको डाला पछाडिबाट २ जना मानिस हामफालेर फरार भएका थिए भने सोही गाडीका चालक धनकुटा सागुरीगढी–९ का ४८ वर्षीय खड्गबहादुर मगराती र सह–चालक १७ वर्षीय दुर्गा बिकलाई प्रहरी नियन्त्रणमा लिइएको छ।
बरामद गरिएको गाँजा र पिकअपसहित पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फरार व्यक्तिहरुको खोजतलास जारी रहेको छ।












Discussion about this post