इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को स्वागत समारोहमा अस्वभाविक दृश्य देखिएको छ ।
सुनसरी क्षेत्र नं.–२ का उम्मेदवार लालविक्रम थापाले बालेनलाई माला लगाइदिने प्रयास गरे पनि उनले माला ‘अस्वीकार’ गर्दै हातैले हटाएका थिए।
उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि पार्टीको प्रचारशैली र नेताको व्यक्तिगत शैली बीचको मतभेदलाई उजागर गर्ने घटना भएको टिप्पणी हुन थालेको छ।
बालेनले माला अस्वीकार गरेपछि कार्यक्रम स्थलमा केही क्षण असहजता उत्पन्न भए पनि उपस्थित कार्यकर्ताले उनको नाममा नाराबाजी लगाएका थिए।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै रास्वपाका नेता बालेन इटहरी आइपुगेका थिए । उनी इटहरी, रामधुनी हुँदै चतरा पुगेका छन् ।
सुनसरी–२ मा बालेनको स्वागत समारोहमा माला अस्वीकार गर्ने घटनाले केही स्थानीय मतदातामा असन्तुष्टि र आलोचना सिर्जना गरेको छ। केहीले यसलाई ‘स्थानीय अपमान’को रूपमा पनि व्याख्या गरेका छन्।
तर रास्वपा उम्मेदवार थापाले भने बाहिर फैलिएको हल्ला जस्तो अवस्था नभएको स्पष्ट पार्दै घटनालाई सामान्य रूपमा लिन आग्रह गरे।
उनले भने, “वहाँले बाहिर माला लगाउनुहुन्न रहेछ, माला बोझ पनि हो। आम जनताले लगाइदिएको माला चाहिँ लगाउँछु। तर तपाईँ हामी साथीभाई पर्दैन भन्नुभयो।”
यस घटनाले स्थानीय मतदातामा असन्तुष्ट धारालाई मात्र होइन, नेताको व्यक्तिगत शैली र पार्टी रणनीति बीचको अन्तरक्रियालाई पनि उजागर गरेको छ।














Discussion about this post