विराटनगर : नेपालभाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय भूमिका खेल्दै आएका मध्यपुर ठिमीस्थित दबुली नेपालका संरक्षक गणेशराम लाछि यस वर्षको ‘सुदर्शन–कपिला सिरपा’बाट सम्मानित भएका छन्।
नेपाल भाषा तथा सांस्कृतिक संघ ‘झीपुचः’विराटनगरले शुक्रबार विराटनगरमा आयोजना गरेको विशेष समारोहमा लाछिलाई दुई लाख रुपैयाँ राशिसहित उक्त सम्मान प्रदान गरिएको हो।
समाजसेवी सुदर्शनबहादुर श्रेष्ठ र उनकी धर्मपत्नी कपिला श्रेष्ठको नाममा स्थापना गरिएको ‘सुदर्शन–कपिला ट्रष्ट’मार्फत प्रदान गरिने यो सम्मान नेपाल भाषा, कला र संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ।
कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले दोसल्ला ओढाएर नगद दुई लाख रुपैयाँ र सम्मान पत्र प्रदान गर्दै लाछिको योगदानको प्रशंसा गरे।
समारोहलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता बोकेको देश भएको उल्लेख गरे।
उनले विभिन्न जातजातिको भाषा, संस्कृति, कला र परम्पराले नेपालको पहिचानलाई समृद्ध बनाएको बताए।
‘नेपाल सांस्कृतिक दृष्टिले विश्वमै समृद्ध मुलुकहो,’ उनले भने, ‘यस्ता मौलिक भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सरकारी तथा सामाजिक संस्थाहरूले अझ सक्रिय भूमिका खेल्न आवश्यक छ।’
कार्यक्रमका आयोजक झीपुचःका अध्यक्ष शरद श्रेष्ठले गणेशराम लाछिले नेपाल भाषा, नेवारी कला तथा सांस्कृतिक परम्पराको संरक्षणमा दीर्घकालदेखि निरन्तर योगदान दिँदै आएकाले उनलाई सम्मान गरिएको जानकारी दिए। उनले झीपुचःले नेवारी संस्कृति र परम्पराको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
उनका अनुसार ‘सुदर्शन–कपिला सिरपा’ सम्मान हरेक दुई वर्षमा एकपटक प्रदान गरिने व्यवस्था रहेको छ।
ट्रष्टमार्फत प्रदान गरिने यो सम्मानले भाषा, कला, संस्कृति र सांस्कृतिक अभियानमा सक्रिय व्यक्तित्वलाई प्रोत्साहन पु¥याउने अपेक्षा गरिएको छ।
यसअघि उक्त सम्मान वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी, भारतको सिक्किमस्थित नेवार गुठी तथा पोखरास्थित नेवा खल कास्कीलाई प्रदान गरिएको थियो।














Discussion about this post