इटहरी : इटहरी उपमहानगरपालिका–२० तरहराको पानीपिया जंगलमा नवजात शिशु फेला परेको घटनाबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकलमा आएका दुई युवकले नवजात शिशु जंगलमा छाडेर फरार भएका हुन्।
तर, प्रभावकारी सिसिटिभी प्रणाली नहुँदा अनुसन्धान थप जटिल बनेको छ। गत शनिवार बिहान फोहोरको डंगुर नजिक रोइरहेको अवस्थामा करिब ७ देखि १० दिनको नवजात शिशु फेला परेको थियो।
स्थानीय महिलाले घाँस काट्न जाँदा शिशु देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। त्यसयता इलाका प्रहरी कार्यालय इटहरी र तरहरा प्रहरी चौकीले घटनाको अनुसन्धान गरिरहेका छन्।
घटनास्थलबाट शिशुको उद्धारपछि स्वास्थ्य परीक्षण गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालयले इटहरी ४ मा रहेको निःसहाय बालबालिका सेवा आश्रमको जिम्मा लगाइएको छ। अहिले शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
प्रहरीका अनुसार केही सिसिटिभी फुटेजमा मोटरसाइकलमा आएका दुई युवक देखिए पनि नम्बर प्लेट स्पष्ट नदेखिँदा पहिचान गर्न कठिन भइरहेको छ।
खासगरी मोटरसाइकलको नम्बर प्लेट पहिचान हुनेबित्तिकै घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीको भनाइ छ। तर, राजमार्ग क्षेत्रमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामेरा सञ्चालनमै नहुँदा अनुसन्धान जटिल बनेको हो।
प्रहरी स्रोतका अनुसार गत भदौमा भएको ‘जेनजी आन्दोलन’का क्रममा केही सिसिटिभी संरचना क्षतिग्रस्त बनेपछि धेरै क्यामेरा मर्मत हुन सकेका छैनन्। त्यसको प्रत्यक्ष असर अहिलेको अनुसन्धानमा परेको हो।
तरहरा प्रहरी चौकीकी इन्चार्ज प्रहरी नायब निरीक्षक चम्पा भुजेलका अनुसार एक स्थानीय व्यक्तिले बच्चा बोकेर दुई युवक मोटरसाइकलमा गएको जानकारी दिएपछि अनुसन्धान केही अगाडि बढेको छ।
प्रहरीले अहिले राजमार्ग आसपासका निजी होटल, संघसंस्था र पसलका क्यामेरा फुटेजसमेत संकलन गरिरहेको छ।
यस घटनाले सार्वजनिक सुरक्षा प्रणालीप्रति स्थानीयको प्रश्न पनि बढाएको छ।
अपराध वा दुर्घटनापछि प्रमाण खोज्न सिसिटिभी सबैभन्दा महत्वपूर्ण माध्यम मानिन्छ। तर, आवश्यक समयमा क्यामेरा नै नचल्ने अवस्था हुँदा अनुसन्धान कमजोर बन्ने र अपराधी उम्किने जोखिम बढ्ने स्थानीयको गुनासो छ।
इटहरी–२० का वडाध्यक्ष मणिराम श्रेष्ठले भने राजमार्ग क्षेत्रमा नयाँ सिसिटिभी जडानको प्रक्रिया अघि बढाइएको बताएका छन्।
उनका अनुसार वडाले आवश्यक इस्टिमेट तयार गरी पठाइसकेको छ र अबको दुई साताभित्र मुख्य स्थानमा नयाँ क्यामेरा जडान गरिनेछ।
यो पनि – तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…














Discussion about this post