विराटनगर : कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा अवैध रूपमा सञ्चालनमा रहेका चार संस्थाअन्तर्गतका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने भएको छ।
अस्पतालले दिएको सातदिने अन्तिम समयसीमा आइतबार सकिएसँगै डोजर चलाउने तयारी गरिएको हो।
शुक्रबार पत्रकार सम्मेलन गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले अस्पतालको गुरुयोजना, सेवा विस्तार र नयाँ पूर्वाधार निर्माणका लागि अतिक्रमित जग्गा खाली गराउन लागिएको बताए।
अस्पताल परिसरमा सञ्चालनमा रहेका उज्ज्वल फार्मेसी, आरम्भ फार्मेसी, हिमालय किराना पसल, पुष्पी फास्ट फुड, बालाजी लिंक क्लिनिक, श्रीकृष्ण खाजाघर, साधना होटल, बुद्ध बेकरी, पूर्वाञ्चल नर्सिङ होम, द्विवेदी खाजाघर, राष्ट्रिय प्राविधिक विद्यालय समिति, मोरङ फार्मेसी र निउमा होटललगायतका संरचना हटाउने तयारी गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी परिसरभित्र रहेका सूचना डेस्क, क्यान्टिन र नागरिक सहायता केन्द्रजस्ता अस्थायी संरचनाको पनि व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।
तर ब्लड बैंक, क्षयरोग निवारण केन्द्र, औषधिप्रति प्रतिरोधी क्षयरोग (एमडीआर–टीबी) उपचार सेवा, देवकोटा पुस्तकालय तथा मन्दिरजस्ता जनस्वास्थ्य र सामाजिक–धार्मिक महत्वका संरचना भने तत्काल नहटाइने अस्पतालले जनाएको छ।
अस्पतालले भत्काइने संरचनामा रातो स्टिकर टाँसिसकेको छ।



















Discussion about this post