इटहरी : कुनै समय मैदानमा विपक्षी खेलाडीलाई छकाउँदै बल अघि बढाउने इटहरी २ का आशिष राई अहिले आफ्नै खुट्टामा उभिनका लागि संघर्ष गरिरहेका छन्।
फुटबल खेल्दाखेल्दै गम्भीर घाइते भएका २४ वर्षीय आशिष झन्डै दुई वर्षदेखि उपचारको क्रममा छन्। नेपालमा दुईपटक शल्यक्रिया गरेपछि चीन हुँदै अहिले थाइल्याण्डमा उपचार गराइरहेका उनको खुट्टामा अझै मेटल प्लेट छ। हड्डी पूर्ण रूपमा जोडिन बाँकी छ भने औँलाको चालसमेत सामान्य हुन सकेको छैन।
आशिषको अहिलेको दैनिकी मैदानमा होइन, अस्पतालमा बितिरहेको छ। हप्तामा तीनपटक फिजियोथेरापी र निरन्तर उपचार उनको दिनचर्या बनेको छ।
२०८० फागुन ३ गते राष्ट्रिय टोलीसँगको मैत्रीपूर्ण खेलका क्रममा आशिष विपक्षी खेलाडीसँग ठोक्किएर मैदानमै ढलेका थिए। खेलको ३६औँ मिनेटमा भएको उक्त घटनापछि उनको फुटबल यात्रा अचानक रोकियो।
गम्भीर चोट लागेपछि उनलाई काठमाडौंको बी एन्ड बी अस्पताल लगिएको थियो। त्यहाँ दुई चरणमा शल्यक्रिया भयो। थप उपचारका लागि एन्फाको सहयोगमा चीनको युनान स्पोर्टस अस्पताल पुगेका आशिषले त्यहाँ करिब तीन महिना उपचार गराए।
चीनको उपचारपछि पनि खुट्टाको समस्या पूर्ण रूपमा समाधान नभएपछि उनी थप उपचारका लागि थाइल्याण्ड पुगे। अहिले त्यहाँ उपचार गराएको करिब चार महिना पुगेको छ।
राष्ट्रिय टोलीमा स्थान बनाउने लक्ष्यसहित अघि बढिरहेका आशिषका लागि अहिले फुटबलभन्दा ठूलो प्राथमिकता आफ्नै खुट्टामा सामान्य रूपमा उभिन सक्नु बनेको छ। तर, फुटबलप्रतिको उनको मोह भने घटेको छैन।
‘अब म एक वर्षसम्म उपचार गरे पनि फेरि फुटबलमै फर्किन्छु। मेरो रगतमा समेत फुटबल छ, म कसरी छोड्न सक्छु र?’ उपचारकै क्रममा उनले भनेका छन्।
स्वास्थ्यमा पहिलेको तुलनामा सुधार भइरहेको उनको भनाइ छ। हप्तामा तीनपटक फिजियोथेरापी गरिरहेका उनी चाँडै निको भएर नेपाल फर्किने आशामा छन्।
परिवार ऋणमा, उपचार भने जारी
छोराको उपचारका लागि परिवारले ऋण गरेर खर्च जुटाइरहेको छ। उपचार लम्बिँदै जाँदा आर्थिक भार पनि बढ्दै गएको छ।
इटहरी–२ शान्तिनगरमा रहेकी आमा सिर्जना राई छोरालाई प्रत्यक्ष भेट्न नसके पनि मोबाइलबाट नियमित सम्पर्कमा छिन्। थाइल्याण्डमा उपचाररत छोराको अवस्था हेर्दा मन थाम्न गाह्रो हुने उनी बताउँछिन्।
‘म आफैँ उपचार गर्छु, तपाईंहरू नआउनुस् भनेर उसले सम्झाउँछ। तर आमाको मन कसरी थामिनु?’ उनी भन्छिन्।
आशिषका दुई भाइमध्ये जेठा वैदेशिक रोजगारीका लागि पोर्चुगलमा छन् भने कान्छा कक्षा ११ मा अध्ययनरत छन्। परिवारको मुख्य चिन्ता अहिले आशिषको उपचार पूरा गर्नु र उनलाई पुनः सामान्य जीवनमा फर्काउनु हो।
च्यातिएको बुटदेखि राष्ट्रिय जर्सीसम्म
बाल्यकालमा फुटबल खेल्न नदिने भन्दै बुवाले बुट लुकाउँथे। तर, फुटबल खेल्न नपाए खाना नै नखाने छोराको जिद्दीका अगाडि आमा हार मान्थिन्।
च्यातिएको बुट टालेर मैदान पुग्ने आशिषले इटहरीको विद्यालयस्तरीय फुटबलबाट यात्रा सुरु गरे। सङ्कटा, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी र एनआरटी हुँदै उनी नेपाल सुपर लिगसम्म पुगे। यू–२० लिगदेखि विदेशका प्रतियोगिता खेलेका उनी अन्ततः नेपाल यू–२३ राष्ट्रिय टोलीमा समेत परे।
राष्ट्रिय जर्सी लगाउने सपना पूरा गरेपछि उनको लक्ष्य अझ माथि थियो। तर, चोटले त्यो यात्रामा ब्रेक लगाइदियो।
अहिले भने उनको सबैभन्दा ठूलो खेल मैदानमा होइन, अस्पतालमा चलिरहेको छ । ‘अब चाँडै निको भएर नेपाल फर्किन्छु,’ आशिष भन्छन्, ‘फेरि फुटबल खेल्ने आशा मारेको छैन।’
यसैबीच इटहरीमा शनिबार सरकारले आशिषको उपचारमा चासो नदेखाएको भन्दै र्याली निकालिएको छ। इटहरी उपमहानगर परिसरबाट सुरु भएको र्याली नगर परिक्रमा गरिएको थियो।
खासगरी र्यालीमा सहभागीहरूले ‘राष्ट्रिय खेलाडीको जीवनको मूल्य कति?’, ‘घाइते खेलाडीको उपचार र क्षतिपूर्तिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ’ लगायतका नारासहित सरकारको ध्यानाकर्षण गराएका थिए।
उनीहरूले राष्ट्रिय गौरवका लागि मैदानमा उत्रिने खेलाडी घाइते हुँदा उपचारको जिम्मेवारीबाट राज्य पन्छिन नहुने भन्दै आशिषको उपचार तत्काल सुनिश्चित गर्न र घाइते खेलाडीका लागि दीर्घकालीन उपचार तथा पुनर्स्थापनाको स्पष्ट नीति बनाउन सरकारसँग माग गरेका छन्।












Discussion about this post