इटहरी : रसुवाका बाढीपीडितका लागि इटहरीस्थित जनता माध्यमिक विद्यालयले एक लाख ४० हजार ८ सय ९ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालको अध्यक्षतामा सोमबार बसेको विद्यालय व्यवस्थापन समिति बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।
रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले विद्यालयले उक्त रकम प्रदान गर्न लागेको जनाएको छ।
दंगाल सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय अध्यक्षसमेत हुन्। उनले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि देशभरका सामुदायिक विद्यालयलाई सक्दो सहयोग गर्न अपिल गरेका छन्।
उनले विपद्का बेला सामुदायिक विद्यालयले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित परिवारको सहयोगमा हातेमालो गर्नुपर्ने बताएका छन्।












Discussion about this post