इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीले एकैदिन पाँचजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी उदयपुर, बेलका नगरपालिका–३ का २४ वर्षीय विष्णु पाण्डे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय पकली सुनसरी र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलाई झुम्काबाट पक्राउ गरेको हो।
जिल्ला अदालत उदयपुरको फैसलाअनुसार उनको करणी मुद्दामा २ वर्ष ५ महिना ८ दिन कैद भुक्तान गर्न बाँकी रहेको थियो ।
त्यस्तै सुनसनरीको भोक्राहा नरसिंह ०५ का एहसान मिया पनि पक्राउ परेका छन् । पशुपक्षीसम्बन्धी मुद्दामा २०८२ भदौ पाँच गते ३० दिन कैद सजायको फैसला भएकामा उनी फरार थिए ।
चेक अनादरसम्बन्धी मुद्दद्दामा जिल्ला अदालत सुनसरीबाट दुई हजार जरिवाना असुल हुन बाँकी रहेका वराहक्षेत्र ०१ का खेमप्रसाद पाठक पनि पक्राउ परेका छन् ।
२०७६ असोजमा १० हजार जरिवाना असुलको फैसला पाएका इटहरी २० का रोहित आले मगर र चेक अनादरकै मुद्दामा एक हजार जरिवाना असुल हुन बाँकी इटहरी २० तरहराका भूपालसिंह पौडेल पनि पक्राउ परेका छन् ।
पक्राउ परेका पाँचै जना प्रतिवादीलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।











Discussion about this post