इटहरी : सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी, बराहक्षेत्र र इनरुवाबाट लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।
इटहरी उपमहानगरपालिका–५ मा लागूऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय २३ वर्षीय निशान सार्कीलाई पक्राउ गरेको छ । उनको कोठा खानतलासी गर्दा १६० पिस स्पास्पेन ट्याब्लेट र १६० पिस ट्रामोल क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, बराहक्षेत्र नगरपालिका–९ मा लौकहीबाट चक्रघट्टीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०५९ प १२८५ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर, प्रहरी चौकी प्रकाशपुर र प्रहरी चौकी मधुवनबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंका लागेर मोटरसाइकल जाँच गर्दा ब्राउनसुगर ८.११ ग्राम र प्रतिबन्धित औषधि एन्टिकफ ३०० पिस फेला परेको जनाएको छ ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–४ का २९ वर्षीय सन्तोष मोक्तान, पछाडि सवार बराहक्षेत्र नगरपालिका–६ का २९ वर्षीय चन्दनकुमार बहरदार र उदयपुरको त्रियुगा नगरपालिका–३ का २९ वर्षीय दीपक दनुवार रहेका छन् ।
यसैगरी, इनरुवा नगरपालिका–४ बसचोकमा प्रहरीले २१ वर्षीय अनुजकुमार सिंहलाई ब्राउनसुगर ०.३६ ग्राम पदार्थसहित पक्राउ गरेको छ । इनरुवा नगरपालिका–७ का सिंह लौकहीबाट इनरुवातर्फ पैदल आउँदै गर्दा शंका लागेर जाँच गरिएको प्रहरीले जनाएको छ ।
यता, देवानगञ्ज गाउँपालिका–६ स्थित जिरोग्वा नहरबाट प्रहरीले भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको चार लाख ३६ हजार रुपैयाँ बराबरको भन्सार छलीका लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले उक्त सामान बरामद गरी आवश्यक कारबाहीका लागि कार्यालयमा राखेको जनाएको छ ।
पक्राउ परेका पाँचै जनामाथि लागूऔषधसम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद सामानका सम्बन्धमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।
यसैबीच, प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल ल्याउँदै गरेको चार लाख ३६ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा कस्मेटिक सामानसमेत बरामद गरेको छ ।
















Discussion about this post