उस्तै छन् अनि उत्तिकै गहकिला रङ्गीन आराधना
उस्तै अङ्गहरू उही किसिमले बस्छन् उही स्थानमा ||
ती मान्छे जुन ठाउंँकै किन नहुन् मान्छे त हुन् आखिरी
छि: छि: होइन प्यारले दिल जितौं के दल्नु मान्छे भई ||१||
ती उद्यान त फूलमा रङहरू भर्ने कलाकार हुन्
फुल्ने फूलहरू बगानबिचमा उद्यानकै सार हुन् ||
साना हुन् कि ठुला सबै रुखहरू मिल्छन् र दिन्छन् वन
जम्मै मानिस दाजुभाइ सम हुन् लाग्दैन हुन् दुश्मन ||२||
पाङ्ग्राकै भरमा दगुर्छ लहरी पाङ्ग्रै ठुलो हो तर
पाङ्ग्रा थेग्न भुल्यो भने चुकुलले गाडी कहाँ गुड्छ र ||
ज्यामी डक्टर हुन् कि कारिगर हुन् जम्मै त हुन् मानिस
हेला गर्नु हुँदैन चाहिँछ सबै विद्वैष वेकार छ ||३||
चाहेकै अनुसार सन्ततिहरू उस्तै हुँदैनन् भने
आमाले त सबै समान गुणका सन्तान दिन्नन् भने ||
चाहेकै अनुसार सर्वगुणले सम्पन्न बन्ला र को ?
बन्ने यत्न सचेत नागरिक जो गर्दैछ त्यो कर्म हो ||४||
एकै नास सधैंँ सबै किसिमले चल्ला र के जीवनी
को देला उपकार गर्दछु भनी आफ्नै कलेजो गिँडी ||
ती औकातहरू शनै: शिखरमा निर्बाध चढ्ने गरे
मान्छे मानिस बन्दछन् बदलिँदो विज्ञानको साथले ||५||
बाँच्नै खान्छ जुठो अभाव घरको टार्नै बनी गर्दछ
खँचो टार्न झुकेर पाउतलमा बिन्ती ठुलै गर्दछ ||
त्यो मान्छे किन अस्तिझैं दलित हो भन्छन् र पार्छन् पर
मान्छे हुन् कसरी भनौं जजसले हेला गरे ईश्वर ||६||

















Discussion about this post