झापा : झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजमा आगलागी हुँदा क्यान्टिनमा काम गर्ने ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार कात्तिक ५ गते बिहान करिब ४ः१० बजे ग्यारेजभित्र सञ्चालित क्यान्टिनमा आगलागी भएको थियो । प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा बिहान ४ः३० बजे आगो नियन्त्रणमा लिइएको थियो । आगलागीमा तीनवटा खसीबाख्रा मर्नुका साथै क्यान्टिनमा रहेका भाँडाकुँडा, लत्ताकपडा र एक लाख रुपैयाँ नगद जलेर नष्ट भएका छन् ।
प्रहरीका अनुसार क्यान्टिनमा भएको आगलागीबाट करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
ग्यारेजसँगै जोडिएको मार्बल तथा टायल्सको गोदाममा समेत सामान्य आगलागी हुँदा २० देखि २५ बोरा सिमेन्ट भिजेर थप २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र अन्य क्षतिको विवरण सङ्कलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post