झापा : जिल्ला प्रशासन कार्यालय झापाले धार्मिक तथा सांस्कृतिक पर्व, र्याली, शोभायात्रा तथा मूर्ति विसर्जनका क्रममा चर्को आवाजमा डिजे बजाउन पूर्ण प्रतिबन्ध लगाएको छ ।
जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सार्वजनिक शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले प्रशासनले यस्तो निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सूचना जारी गर्दै प्रशासनको निर्देशनविपरीत चर्को आवाजमा डिजे बजाएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएका छन् ।
प्रशासनका अनुसार नियम उल्लंघन गर्ने कार्यक्रमका आयोजक तथा सहभागीका साथै डिजे भाडामा दिने साउन्ड सिस्टम व्यवसायी र ढुवानीमा प्रयोग हुने सवारीसाधनका धनीलाई समेत कारबाहीको दायरामा ल्याइनेछ ।
सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा प्रयोग गरिएका डिजे तत्काल नियन्त्रणमा लिएर सञ्चालकमाथि कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको सूचनामा उल्लेख छ ।
प्रशासनले धार्मिक तथा सांस्कृतिक पर्व मनाउने क्रममा अन्य धर्मावलम्बीका आस्थाका केन्द्र मन्दिर, मस्जिद, मदरसा, चर्च तथा गुम्बाअगाडि नियोजित रूपमा जुलुस रोक्ने, होहल्ला गर्ने, अबिरलगायतका सामग्री फ्याँक्ने र उत्तेजक प्रदर्शन गर्ने कार्य नगर्न पनि सचेत गराएको छ ।
मूर्ति विसर्जन तथा शोभायात्राका क्रममा निर्धारित मार्ग र समयको पूर्ण पालना गर्नुपर्ने प्रशासनले स्पष्ट पारेको छ ।
त्यस्तै, धार्मिक तथा सांस्कृतिक जुलुसमा मादक पदार्थ सेवन गरी सहभागी नहुन र सामाजिक सञ्जालमार्फत भ्रामक तथा साम्प्रदायिक सद्भाव भड्काउने खालका सन्देश प्रसार नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
पर्व मनाउने नाममा अन्य समुदायको आस्थामा चोट पुर्याउने तथा शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि कानुनअनुसार दण्डनीय हुने प्रशासनले जनाएको छ ।
बहुजातीय, बहुभाषिक र बहुधार्मिक पहिचान बोकेको झापामा लामो समयदेखि कायम रहेको आपसी सद्भाव र सांस्कृतिक सहअस्तित्व संरक्षण गर्नु सबैको साझा दायित्व भएको प्रशासनको भनाइ छ ।
















Discussion about this post