गाईघाट : उदयपुरको त्रियुगा नगरपालिकाले विद्यार्थी तथा सर्वसाधारणलाई लक्षित गरी नगर क्षेत्रका ६ वटा विद्यालयमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ। आँखासम्बन्धी समस्या पहिचान, मोतिबिन्दुका बिरामीको छनोट तथा आवश्यक शल्यक्रिया गर्ने उद्देश्यले मंसिर २ देखि १४ गतेसम्म शिविर सञ्चालन भइरहेको हो।
नगरपालिकाकी शिक्षा शाखा प्रमुख शिवकुमारी राउतका अनुसार विभिन्न वडाका विद्यालयलाई केन्द्र बनाएर सञ्चालन गरिएको शिविरमा विद्यार्थीसँगै सर्वसाधारणले पनि निःशुल्क आँखा परीक्षण गराउन सक्नेछन्।
त्रियुगा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग, नेपाल नेत्रज्योति संघ, लहान आँखा तथा कान उपचार प्रणाली र सगरमाथा चौधरी आँखा अस्पताल, लहानको सहकार्यमा शिविर सञ्चालन गरिएको हो। परीक्षणका क्रममा मोतिबिन्दु देखिएका र शल्यक्रिया आवश्यक पर्ने बिरामीलाई छनोट गरी अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ। शल्यक्रियाका लागि आवश्यक ल्याब परीक्षण, औषधि तथा कालो चस्मासमेत निःशुल्क उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।
दृष्टि सुधारका लागि चस्मा आवश्यक पर्ने व्यक्तिले शिविरबाटै सुपथ मूल्यमा चस्मा खरिद गर्न सक्नेछन्। शिविरमा नाम दर्ता तथा आँखा परीक्षणका लागि कुनै शुल्क लाग्ने छैन।
शिविरअन्तर्गत मंसिर २, ३ र ४ गते त्रियुगा नगरपालिका–११ स्थित त्रियुगा माध्यमिक विद्यालय, गाईघाटमा आँखा परीक्षण गरिएको छ। त्यस्तै, मंसिर ८ गते वडा नं. २ को जनता माध्यमिक विद्यालय, मोतियाही, ९ गते वडा नं. १ को माध्यमिक विद्यालय, जोगीदह, १० गते वडा नं. ३ को रामजानकी माध्यमिक विद्यालय, मोतिगढा, १३ गते वडा नं. ४ को राष्ट्रिय माध्यमिक विद्यालय, बगहा र १४ गते वडा नं. ८ को अम्बेबर माध्यमिक विद्यालय, राजाबासमा शिविर सञ्चालन हुनेछ।
गाईघाट, मोतियाही, जोगीदह, मोतिगढा र राजाबासमा बिहान ५ देखि दिउँसो २ बजेसम्म तथा बगहामा बिहान ९ देखि दिउँसो २ बजेसम्म आँखा परीक्षण गरिनेछ।
मोतिबिन्दुको शल्यक्रियाका लागि छनोट भएका बिरामीले अस्पतालसम्म जाने–आउने यातायात तथा खाना खर्च भने आफैं व्यहोर्नुपर्ने आयोजकले जनाएको छ। नगरपालिकाले आँखासम्बन्धी समस्या भएका विद्यार्थी तथा सर्वसाधारणलाई तोकिएको स्थान र मितिमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ।
















Discussion about this post