इटहरी : जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित कोशी प्रदेशका पाँच जिल्लाका १३ जनप्रतिनिधिको पद रिक्त भएको छ ।
निर्वाचन आयोगले जसपा नेपालको केन्द्रीय समन्वय समितिको निर्णयका आधारमा बुधबार उनीहरूको पद रिक्त गर्ने निर्णय गरेको हो । आयोगले बिहीबार सूचना प्रकाशित गरी सम्बन्धित जनप्रतिनिधिको पद रिक्त भएको जानकारी गराएको छ ।
पद रिक्त हुनेमा खोटाङका आठ, इलामका दुई तथा भोजपुर, उदयपुर र सुनसरीका एक–एक जना जनप्रतिनिधि छन् । यससँगै जसपा नेपालको तर्फबाट स्थानीय तह निर्वाचनमा निर्वाचित भई पद गुमाउने जनप्रतिनिधिको सङ्ख्या १८ पुगेको छ ।
पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत काम गरेको र दल त्याग गरेको भन्दै जसपा नेपालले उनीहरूको पद रिक्त गर्न आयोगमा निर्णयसहित जानकारी गराएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम आयोगले पद रिक्त गर्ने निर्णय गरेको जनाएको छ ।
पद रिक्त हुनेमा उपप्रमुख, गाउँपालिका उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख, वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य, दलित महिला सदस्य तथा नगरकार्यपालिका सदस्य रहेका छन् ।
यसअघि पनि जसपा नेपालको तर्फबाट निर्वाचित पाँच जनप्रतिनिधिको पद रिक्त भइसकेको आयोगको विवरणमा उल्लेख छ ।
















Discussion about this post