इटहरी : पूर्वी नेपालको सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको इटहरीको पुरानो सांगीतिक समूह नेक्सस ब्यान्ड नयाँ एल्बमसहित पुनः दर्शकमाझ आउने भएको छ ।
ब्यान्डले आगामी मङ्सिर ५ गते इटहरीमा विशेष लाइभ सांगीतिक कार्यक्रम आयोजना गरी आफ्नो नयाँ एल्बम ‘वरिपरि’ सार्वजनिक गर्ने तयारी गरेको हो ।
इटहरीस्थित के क्लबमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा ब्यान्डले एल्बममा समावेश गीतहरू प्रत्यक्ष प्रस्तुत गर्नेछ । त्यसको भोलिपल्ट अर्थात् मङ्सिर ६ गते झापाको बिर्तामोडमा समेत ब्यान्डले आफ्नो सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
ब्यान्डको सांगीतिक यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सदस्यहरूले नेक्ससको पुनरागमनलाई पुराना सांगीतिक सम्झना र नयाँ सिर्जनाको संगमका रूपमा व्याख्या गरेका छन् । ब्यान्डका गायक पवन लिम्बूका अनुसार नेक्ससको स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ । विद्यालय तहदेखि नै संगीतमा रुचि राख्दै सांगीतिक यात्रा सुरु गरेका लिम्बूले लामो अन्तरालपछि नयाँ एल्बम सार्वजनिक गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।
कुनै समय इटहरीमा नियमित सांगीतिक कार्यक्रममार्फत दर्शकसँग जोडिएको नेक्ससका सदस्यहरू अहिले विभिन्न देशमा रहे पनि संगीतप्रतिको साझा लगावले उनीहरूलाई पुनः एउटै मञ्चमा जोडेको छ ।
ब्यान्डका सदस्यहरूमा गायक पवन लिम्बू, गिटारवादक मनोज राई र सुजन लिम्बू, ड्रमर नवीन श्रेष्ठ तथा बेस गिटारमा नवीन न्यौपाने रहेका छन् । उनीहरूले यसअघि ‘विश्वास’जस्तो गीतमार्फत आफ्नो सांगीतिक पहिचानलाई निरन्तरता दिएका छन् । प्रेम, विछोड, सम्झना र भावनात्मक सम्बन्धलाई समेटेको उक्त गीत ब्यान्डको चिनारी बनेको छ ।
ब्यान्डका बेस गिटारिस्ट नवीन न्यौपाने इटहरीका स्थापित गिटारवादक, एरेन्जर तथा संगीतकर्मीसमेत हुन् । उनले एल्बम विमोचन कार्यक्रमलाई गीतसंगीत प्रस्तुत गर्ने अवसर मात्र नभई पुराना साथी, संगीतप्रेमी र दर्शकबीच पुनर्मिलन गराउने विशेष अवसरका रूपमा लिएको बताएका छन् ।
नेक्ससको पुनरागमनले स्थानीय संगीतकर्मीलाई आफ्ना मौलिक सिर्जना प्रस्तुत गर्ने अवसरको महत्त्वसमेत उजागर गरेको छ । गीतसंगीत मनोरञ्जनको माध्यम मात्र नभई एउटा पुस्ताको स्मृति, भावना र सांस्कृतिक पहिचानसँग जोडिने माध्यम पनि हो ।
त्यसैले लामो समयपछि एउटै मञ्चमा उभिन लागेका नेक्ससका सदस्यहरूको यो कार्यक्रम इटहरीको सांगीतिक इतिहासका लागि पनि अर्थपूर्ण हुने अपेक्षा गरिएको छ ।
आज इटहरीमा भएको सञ्चारकर्मी भेटघाट कार्यक्रममा एल्बमको बारेमा जानकारी दिँदै गिटारवादकमा मनोज राई, सुजन लिम्बू, ड्रमरमा नवीन श्रेष्ठ, बेस गिटारवादक तथा स्थापित गिटारवादक, एरेन्जर र संगीतकर्मीमा नवीन न्यौपाने रहने जानकारी दिइयो ।















Discussion about this post